काठमाडौं । अबको बुधबार युरोपेली क्लब फुटबलमा फेरि एउटा गजब संयोग जुरेको छ । त्यस दिन राति युरोपेली च्याम्पियन्स लिग फुटबलमा एकै पटक १८ खेल हुनेछ । यसमा सहभागी हुने ३६ क्लब युरोपकै प्रमुख र नामी क्लब छन् ।
फुटबलप्रेमीको नजरले हेर्ने हो भने खुबै रोमाञ्चक रात रहनेछ । यसले तीन प्रश्नको उत्तर दिनेछ । पहिलो प्रश्न हो, शीर्ष आठमा रहने टिम कुन–कुन हुनेछ ?
जति टिमले सुरुआती आठ स्थान हात पार्नेछन्, तिनीहरूले स्वतः अन्तिम १६ मा प्रवेश पाउनेछन् । यी टिमले च्याम्पियन्स लिगबाट केही समय आराम पनि पाउनेछन् र आफ्नो पूरा ध्यान घरेलु लिग र कपमा केन्द्रित गरे पुग्नेछ । त्यसैले यी सबै टिम भाग्यमानीभन्दा हुन्छ । त्यसपछि दोस्रो प्रश्न हो, नवौंदेखि २४ औं स्थानसम्म कुन–कुन टिम रहन्छ त ? यी १६ टिम प्लेअफमा जानेछ ।
दुई लेगको खेलपछि थप आठ टिमले अन्तिम १६ मा प्रवेश पाउनेछ । जति टिमले यो समूहमा आफूलाई पाउने छन्, ती केही हदसम्म भाग्यमानी हुनेछ, किनभने कम्तीमा उनीहरूको चुनौती प्रतियोगितामा त कायम रहनेछ । तर तनाव के भने दुई लेगका प्लेअफ खेल्नुपर्नेछ र यसमा अनेक खाले कठिनाइ हुन सक्नेछ । यसमा हारको अर्थ, प्रतियोगिताबाट बाहिर ।

अब तेस्रो प्रश्न, २५ देखि ३६ औं स्थानमा आउने टिमचाहिँ कुन कुन हुनेछ त ? यी भने अभाग्यमानी टिम हुन् । अझ भनौं कमजोर टिम । चुत्था हुने टिम । यिनको चुनौती यहीं टुंगिन्छ । अब यिनीहरूको पूरापूर ध्यान घरेलु लिग र कपमै केन्द्रित भए राम्रो । लिगमा एक चरणको खेल बाँकी भएको बेला यसपालिको च्याम्पियन्स लिगले भन्न के खोजेको छ त ? यसको उत्तर हो, यसपल्ट युरोपमा इङ्लिस क्लबको वर्चस्व रह्यो ।
अहिलेसम्म सात चरणका खेल भए । प्रत्येक टिमले सुरुमा खेल्ने भनेको आठ खेल हो । आर्सनल सातै खेलमा लगातार विजयी रहेको छ । टोली २१ अंकसहित शीर्षमा छ । आर्सनल त प्रिमियर लिगमा पनि शीर्षमै छ । त्यसपछि जर्मनीको बायर्न म्युनिक १८ अंकसहित दोस्रो तथा स्पेनको रियल मड्रिड १५ अंकमा तेस्रो स्थानमा छ । अहिलेसम्म दुई टिमको मात्र अन्तिम १६ को यात्रा निश्चित भएको छ । यी आर्सनल र बायर्न नै हुन् ।
डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) १३ अंकमा छैटौं स्थानमा छ । बाँकी शीर्ष आठमा रहेका टिम सबै इङ्ल्यान्डका छन् । जस्तो लिभरपुल १५ अंकसहि चौथो, टोटनहम १४ अंकसहित पाँचौं, न्युकासल युनाइटेड १३ अंकसहित सातौं तथा चेल्सी १३ अंकसहित आठौं स्थानमा छ । टोलीहरूको पछाडि बार्सिलोना, एट्लेटिको मड्रिड, एटलान्टा, इन्टर मिलान, युभेन्ट्स जस्ता टिम छन् । त्यो पनि हेरेको हे¥यै स्थितिमा ।
म्यानचेस्टर सिटी भने ११ औं स्थानमा छ । अन्तिम दिनको नतिजा अझै बाँकी छ । त्यसले यो लिग तालिकामा तलमाथि त पार्न सक्ने नै छ । तर सम्भव के छ भने स्वतः अन्तिम १६ मा पुग्ने सबैभन्दा बढी टिम इङ्ल्यान्डकै हुनेछ । अनि यी इङ्ल्यान्डको प्रतिनिधित्व गरेर खेलिरहेका कुनै पनि ६ टिमको चुनौती बुधबार सकिने छैन, कायमै रहनेछ ।