काठमाडौं । विक्रान्त नरसिंह रानाको सानदार प्रदर्शनप्रेरित उपाधि होडबाट बाहिरिसकेको नेपालले साफ फुटसल च्याम्पियनसिपमा बंगलादेशविरुद्ध ४-१ को सानदार जित हासिल गरेको छ ।
शनिबार बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा सम्पन्न दिनको पहिलो खेलमा विक्रान्तले एक गोल र दुई ‘असिस्ट’ आफ्नो नाममा लेखाए । विक्रान्तसँगै लाक्पा तामाङ, सरोज तामाङ र सञ्जय स्याङताङले ‘स्कोरसीट’मा आफ्नो नाम लेखाए ।
प्रतियोगितामा व्यक्तिगत पाँचौं गोल गर्ने क्रममा विक्रान्तले खेलको ३७औं मिनेटमा कप्तान विजयी श्रेष्ठको पासलाई सदुपयोग गरे । बक्स बाहिरबाट विक्रान्तको लेफ्ट फुटेड शक्तिशाली प्रहार विपक्षी गोलकिपर जाहिद हसन रब्बीलाई बचाउन सम्भव थिएन ।
खेलको सुरुआती समयदेखि विक्रान्त केन्द्रविन्दुमा रहे । पहिलो गोल लाक्पाले गरेका थिए । विक्रान्तको पासमा लाक्पाको लेफ्ट फुटेड प्रहारले दोस्रो बारको टप कर्नर जाली चुमेको थियो । लाक्पाले काजी इब्राहिम अहमदसँग बल खोसेपछि ‘कम्बिनेसन प्ले’ सम्भव भएको थियो ।

खेलको २९औं मिनेटमा पेम्बा दोर्जे लामाले विपक्षी खेलाडीलाई छक्याउँदै ‘शट अटेम्प्ट’ गरे । तर, उनको प्रहार गोलकिपर जाहिद हसनले बचाए । तर, बल अझै क्लियर भइसकेको थिएन । बल विक्रान्तसम्म आइपुग्यो । विक्रान्तले विपक्षीको कुनै पनि निगरानीमा नरहेका सरोजलाई पास दिए । बाक्लो अन्तर्राष्ट्रिय एक्सपोजर भएका सरोजले बललाई राम्ररी ‘प्लेसमेन्ट’ गरेपछि नेपाल २-० ले अगाडि बढ्यो ।
३५औं मिनेटमा बंगलादेशले गोल फर्कायो । सुरज गुरुङलाई बिट गर्दै कप्तान रहबार वाहेद खानले बललाई अगाडि बढाए । पेनाल्टी बक्सभित्र गोलकिपर दीपेश श्रेष्ठ बल क्लियर गर्न दौडिए । स्लाइडिङ ट्याक्कल गरे । तर, त्यसमा दीपेश सफल हुन सकेनन् । खाली पोस्टमा रहबारलाई गोल गर्न कुनै गाह्रो भएन ।
अर्को मिनेटमै सुरजले आफूलाई रिडिम गरे । क्विक कर्नर लिँदै उनले सञ्जयलाई गोलका लागि राम्रो अवसर मिलाइदिए । विपक्षी खेलाडीको निगरानीमा नरहेका स्याङताङले सहज गोल गरे ।

प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई २–१ ले हराएको थियो । बंगलादेश पनि यसअघि नै उपाधि होडबाट बाहिरिसकेको छ । नेपालसँग पराजित भएसँगै बंगलादेश चौथो स्थानमा झर्यो । नेपालले आफ्नो अन्तिम खेलमा सोमबार भुटानलाई हराए कम्तिमा तेस्रो स्थान पक्का गर्नेछ । बढीमा नेपाललाई उपविजेता बन्ने मौका पनि हुनेछ ।
दिनको दोस्रो खेलमा माल्दिभ्सले भुटानसँग खेल्दैछ । चार खेलमा स्पष्ट १२ अंक जोडेको माल्दिभ्सलाई च्याम्पियन बन्न मात्र एक अंक आवश्यक छ ।
