काठमाडौं । आइसिसी महिला ट्वान्टी-२० ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग २ रनको दूर्भाग्यजनक हार बेहोरेको छ ।
बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न समूह ‘बी’को खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १४१ रनको मध्यम लक्ष्य नेपालले पछ्याउन सकेन । नेपालले २० ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै मात्र १३८ रन जोड्न सक्यो ।
अन्तिम ओभरमा नेपाललाई जितका लागि १३ रनको आवश्यक थियो । क्रिजमा थिए अनुभवी खेलाडीद्धय रवीना क्षेत्री र सीता रानामगर । तर, यी दुईले स्कोरबोर्डमा १० मात्र १० रन जोड्न सके ।
यो हारसँगै नेपालको सुपर सिक्सको सम्भावना कठिन मोडमा पुगेको छ । सुपर सिक्समा पुग्न अब नेपालले बाँकी दुई खेल जित्नुपर्ने छ नै । अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ ।

नेपाललाई हराएसँगै नेदरल्यान्ड्सले सुपर सिक्समा आफ्नो स्थान पक्का गरेको छ । डच टोलीको यो लगातार तेस्रो जित हो । यसअघि नेदरल्यान्ड्सले जिम्बाब्वे र स्कटल्यान्डको चुनौती पन्छाएको थियो । नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग हार बेहोरेको थियो ।
नेदरल्यान्ड्सविरुद्ध रुवीनाले ३२ बलमा ५ चौकासहित सर्वाधिक ३७ रन जोड्नि । त्यस्तै तल्लो क्रमका सीता रानामगरले १२ बलमा चार चौका र एक छक्कासहित २७ रनको पारी खेलिन् । यसबाहेक ओपनरहरु– विन्दु रावलले १८ र सम्झना खड्काले १४ रन बनाए । यसैगरी कविता जोशीले १३ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
मध्यक्रममा राम्रो पार्टनरसिप नबन्नु नेपालको हारको प्रमुख कारण थियो । २२ रनमा पहिलो विकेट गुमाएको नेपालले थप ४० रनमा अर्को चार विकेट गुमायो । त्यसपछि रुवीनाले पारीलाई उकासेकी थिइन् । १७औं ओभरको दोस्रो बलमा कवीता कुंवरको विकेटपछि सीता क्रिजमा आएकी थिइन् । सीताले रुवीनासँग मिलेर पारीलाई उकासिन् । तर, जित भने दिलाउन सकिनन् ।

डच टोलीका लागि इसाबेल भान डर वनिङले सर्वाधिक तीन विकेट लिइन् । यसैगरी सिल्भर सिगर्स, रोविन रिके र क्यारोलिन डी लेन्जले समान एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरको समाप्तिमा १४० रनको योगफल खडा गरेको थियो । नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डी लीडले ४९ रनको पारी खेलिन् । त्यस्तै स्टेयर कालीसले ३० रन जोड्दा रोविन रिके १९ रनमा अविजित रहिन् । यसबाहेक आइरिस ज्विलिङले १४ र हिथर सिगेर्सले १३ रनको योगदान गरे । ज्विलिङ पनि अन्तिम बलसम्म टिकिन् ।
नेपालका लागि रुवीना क्षेत्रीले दुई तथा सुमन विष्ट, पूजा महतो र रिया शर्मा समान एक विकेट लिए ।
नेपालले आफ्नो तेस्रो खेलमा शनिबार जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्नेछ । त्यस खेलमा पराजित भए नेपाल पहिलो चरणबाटै बाहिरिनेछ ।
