काठमाडौं । भारतविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला घरेलु टोली अस्ट्रेलियाले आफ्नो पक्षमा पारेको छ । एड्लिड ओभलमा बिहीबार सम्पन्न दोस्रो खेलमा अस्ट्रेलिया दुई विकेटले विजयी भयो ।
जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ। पहिलो खेलमा अस्ट्रेलिया डकवर्थ लुइस (डिएलएस) पद्धतिका आधारमा सात विकेटले विजयी भएको थियो ।
भारतले प्रस्ततु गरेको २६५ रनको लक्ष्य अस्ट्रेलियाले ४६.२ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो ।
अस्ट्रेलियाका लागि म्याथ्यु शर्टले ७८ बलमा चार चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७४ रनको योगदान गरे । यसैगरी कुपर कोनोलीले ५३ बलमा पाँच चौका र एक छक्कासहित अविजित ६१, मिचेल ओवेनले ३६, म्याट रेन्शोले ३०, ट्रभिस हेडले २८ र कप्तान मिचेल मार्शले ११ रन बनाए ।
शर्टले तेस्रो विकेटका लागि रेन्शो तथा पाँचौं विकेटका लागि कोनोलीसँग समान ५५ रनको साझेदारी गरेका थिए । यसैगरी छैटौं विकेटका लागि कोनोली र ओवेनबीच ५९ रनको साझेदारी भएको थियो ।
भारतका लागि अर्शदीप सिंह, हर्षीत राना र वासिङ्टन सुन्दरले समान दुई तथा मोहम्मद सिराज र अक्षर पटेलले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६४ रनको योगफल तयार पारेको थियो ।
भारतका लागि रोहित शर्माले ९७ बलमा सात चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७३ रनको योगदान गरे । यसैगरी श्रेयस अय्यरले ७७ बलमा सात चौकासहित ६१, अक्षर पटेलले ४६, हर्षीत रानाले अविजित २४, अर्शदीप सिंहले १३, वासिङ्टन सुन्दरले १२ र केएल राहुलले ११ रन बनाए ।
तेस्रो विकेटका लागि रोहित र श्रेयसले ११८ रनको साझेदारी गरेका थिए । अस्ट्रेलियाका लागि एडम जाम्पाले चार, जेभियर बार्टलेटले तीन तथा मिचेल स्टार्चले दुई विकेट लिए ।
शृंखलाको तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।