काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजले पाकिस्तानविरुद्धको एकदिवसीय शृंखला आफ्नो पक्षमा पारेको छ ।
मंगलबार ब्रायन लारा रंगशालामा सम्पन्न तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजले २०२ रनको सानदार जित दर्ता गर्यो ।
जितसँगै वेस्ट इन्डिज तीन खेलको शृंखलामा २-१ ले विजयी भयो । यसअघि दुवै टोली पाँच विकेटले विजयी भएका थिए ।
वेस्ट इनिजले ३४ वर्षपछि पाकिस्तानविरुद्धको एकदिवसीय शृंखला हात पारेको हो । पछिल्लो पटक टोलीले सन् १९९१ मा पाकिस्तानसँगको एकदिवसीय शृंखलामा आफ्नो पक्षमा पारेको थियो ।
वेस्ट इन्डिजले प्रस्तुत गरेको २९५ रनको लक्ष्य पछ्याएको पाकिस्तान २९.२ ओभरमा ९२ रनमै समेटियो ।
पाकिस्तानका लागि सलमान अघाले ३०, मोहम्मद नवाजले अविजित २३ र हसन नवाजले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
वेस्ट इन्डिजका लागि जेडन सिल्सले ७.२ ओभरमा मात्र १८ रन खर्चिएर सर्वाधिक ६ विकेट लिए । यसैगरी गुडाकेश मोतीले दुई तथा रोस्टन चेजले एक विकेट हात पारे ।
त्यसअघि टास हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २९४ रनको योगफल तयार पारेको थियो ।
वेस्ट इन्डिजका लागि कप्तान साइ होपले ९४ बलमा १० चौका र पाँच छक्काको मद्दतले अविजित १२० रनको योगदान गरे । यसैगरी जस्टिन ग्रिभ्सले अविजित ४२, इभिन लुइसले ३७, रोस्टन चेजले ३६, केसी कार्टीले १७ र शेर्फन रादरफोर्डले १५ रन बनाए ।
होपले आठौं विकेटका लागि ग्रिभ्ससँग अविजित ११० तथा पाँचौं विकेटका लिग चेजसँग ६४ रनको साझेदारी गरेका थिए ।
पाकिस्तानका लागि नशिम शाह र अब्रार अहमदले समान दुई तथा सइम अयुब र मोहम्मद नवाजले समान एक विकेट लिए ।