काठमाडौं । घरेलु टोली अस्ट्रेलिया ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध १७ रनले विजयी भएको छ ।
जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल विहिबार हुनेछ ।
आइतबार मरारा ओभलमा अस्ट्रेलियले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १६१ रन मात्रै बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि रायन रिकेल्टनले ५५ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ७१ रनको योगदान गरे । यसैगरी ट्रिस्टन स्टब्सले ३७, लुआन ड्रे प्रिटोरियसले १४, कप्तान एडेन मार्करमले १२ र कागिसो राबडाले १० रन बनाए ।
अस्ट्रेलियाका लागि जोश हेजलउड र बेन द्वारशुइसले समान तीन, एडम जाम्पाले दुई तथा ग्लेन म्याक्सवेलले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सबै विकेृट गुमाउँदै १७८ रनको योगफल तयार पारेको थियो ।
अस्ट्रेलियाका लागि टिम डेविडले ५२ बलमा आठ छक्का र चार चौकाको मद्दतले सर्र्वाधिक ८४ रनको योगदान गरे । यसैगरी क्यामरुन ग्रिनले ३५, बेन द्वारशुइसले १७, कप्तान मिचेल मार्शले १३ र नाथन एलिसले १२ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि क्वेना माफाकाले चार, लुंगी एनगिडीले दुई तथा जर्ज लिन्डे र सेनुरन मुथुस्वामीले समान एक विकेट लिए ।