काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले लगातार तेस्रो जित दर्ता गरेको छ ।
शनिबार मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा ललितपुरले त्रिभुवन विश्वविद्यालय (त्रिवि) विरुद्ध सात विकेटको सहज जित दर्ता गर्यो ।
जितसँगै तीन खेलमा ६ अंक जोडेको ललितपुर शीर्ष स्थानमा छ । दुवै खेलमा पराजित त्रिवि अंकविहिन छ । यसअघि ललितपुरले काठमाडौं र भक्तपुरलाई पराजित गरेको थियो । त्रिविले काठमाडौंसँग हार बेहोरेको थियो ।
त्रिविले प्रस्तुग गरेको ९० रनको लक्ष्य ललितपुरले ८.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । ललितपुरका लागि कप्तान आशुतोष घिरैयाले अविजित २७, रोनिम तिवारीले २६ र सचिन लेखकले १० रन बनाए ।
त्रिविका लागि आरिफ अन्सारीले दुई र अशुल बोहोराले एक लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको त्रिविले २८.४ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनको योगफल तयार पारेको थियो । त्रिविका लागि लकी कडायतले ३० र आकिल खानले १८ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
ललितपुरका लागि विपिन आचार्यले ६, तिलकराज भण्डारीले दुई र भागर्व खनालले एक विकेट लिए ।