काठमाडौं । मछिन्द्र फुटबल क्लबका रक्षक सनिश श्रेष्ठ केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
सनिशले मछिन्द्रलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका थिए । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले हराउँदै मछिन्द्रले उपाधिमा ह्याट्रिक गरेको थियो ।
फाइनलको पहिलो गोलमा सनिशकै योगदान थियाे । उनको प्रहारलाई रोक्न खोज्दा आर्मीका रक्षक विमल पाण्डेले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।
यस्तै सनिशले सेमिफाइनलमा आयोजक केपी ओली एफसीविरुद्ध ४-० को जित निकाल्दा दुई गोलका लागि अवसर सिर्जना गरेका थिए ।
सर्वोकृष्ट खेलाडी चुनिएसँगै सनिशले १ लाख रुपैयाँका साथै यामाहाको सलुटो १२५ सिसी मोटरसाइकल प्राप्त गरे ।
मछिन्द्रकै फरवार्ड स्टेफन जमाह जाली सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगिताका तीन खेलमा चार गोल गरे ।
जालीले पहिलो खेलमा भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेड र फाइनलमा आर्मीविरुद्ध सामन एक तथा सेमिफाइनलमा आयोजक केपी ओली एफसीविरुद्ध दुई गोल गरेका थिए ।
मछिन्द्रकै कप्तान विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । उनले तीनै खेलमा ‘क्लिन सिट’ राखेका थिए । आर्मीलाई फाइनलसम्म पुर्याउन महत्पूर्ण भूमिका निर्वाह गरेका फरवार्ड निराजन धामी उदीयमान खेलाडी घोषित भए ।
तीनै जनाले ५० हजार रुपैयाँसहित यामाहाको सलुटो १२५ सिसी मोटरसाइकल प्राप्त गरे ।