काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका नवनियुक्त प्रशिक्षक म्याट रसले आफ्नो मुख्य उदेश्य नेपाललाई साफ च्याम्पियनसिपको उपाधि दिलाउनु रहेको बताएका छन् ।
सोमबार आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा रसले भने,‘ ‘हामी अब मैत्रीपूर्ण खेलसँगै एसियन कप छनोटमा ध्यान केन्द्रित हुनेछौं,’ रोसले भने, ‘नेपाललाई एसिया कपमा छनोट गराउन हर सम्भव प्रयास गर्नेछु । एसिया कपमा नपुगे पनि टोलीलाई साफ च्याम्पियनसिप भने दिलाउन सक्छु भन्ने विश्वास छ ।’
साथै उनले भविष्य खोज्न विदेश पलायन भएका खेलाडीलाई स्वदेश फर्किएर आफ्नो देशलाई प्रतिनिधत्व गर्दै खेल्न ढोका खुला रहेको बताएका छन् ।
नेपाली टोलीको प्रशिक्षक हुन पाउँदा खुसी र उत्साहित रहेको जनाउँदै उनले नेपालमा फुटबलको अविश्वसनीय क्रेज देखेको र धेरैभन्दा धेरै सफलताको प्रयास गर्ने बताए । ‘नेपालमा फुटबल क्रेज अविश्वसनीय रहेको पाए । टोलीलाई धेरैभन्दा धेरै सफलता दिलाएर समर्थक खुसी पार्न चहाँछु,’ रसले भने ।
उनले बल कन्ट्रोलदेखि ट्रान्जिसनमा केही सुधार गर्नुपर्ने जनाउँदै उनले हाइ इन्टेन्सिटी खेल खेल्न जरुरी रहेको बताए ।
रसले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग एक वर्षको सम्झौता गरेका छन् ।
पूर्व प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल जेठ अन्तिममा सकिएको थियो । एनेसको सम्झौता नवीकरण नगरेको एन्फाले गत मंसिरमा सम्पन्न ताजकिस्तान र अफगानिस्तानसँगको त्रिदेशीय कपमा नवीन न्यौपानेलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
अस्ट्रेलियन नागरिक रस ‘युइएफए प्रो लाइसेन्स’ मान्यताप्राप्त प्रशिक्षक हुन् । रससँग दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको जिम्मेवारी सम्हालेको अनुभव छ । उनी २०२० देखि २०२३ सम्म कोरियाको मुख्य प्रशिक्षक थिए । त्यस्तै रससँग स्विडिश महिला शीर्ष डिभिजन क्लब भिन्सो जियाकेलाई प्रशिक्षण दिएको अनुभव पनि छ ।
रसले स्पेनका युयान्डे रामोस, स्पेनकै युलियन गुइएरो, फ्रान्सका रेने लोबेलो र इङ्ल्यान्डका जेमी डेलाई पछि पार्दै नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी पाएका हुन् ।
विश्वभरबाट ४०० सयको आवेदन परेकोमा एन्फाले सुरुमा २० जनाको छनोट गरेको थियो । त्यसपछि २० बाट पाँच जना छानिएको थियो । तिनै पाँचबाट रसलाई नियुक्त गरिएको हो ।