काठमाडौं । न्युजिल्यान्डविरुद्ध ४४ रनको जित निकाल्दै भारत आइसिसी च्याम्पियन्स ट्रफीमा समूह ‘ए’ को विजेता बनेको छ ।
जितसँगै भारतले तीन खेलमा ६ अंक जोड्यो । पहिलो पराजय बेहोरेको न्युजिल्यान्डको समान खेलबाट चार अंक रह्यो ।
यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा भारतले अस्ट्रेलिया र न्युजिल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्नेछन् ।
आइतबार दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले प्रस्तुत गरेको २५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४५.३ ओभरमा २०५ रनमै समेटियो ।
न्युजिल्यान्डका लागि केन विलियमसनले १२० बलमा सात चौकाको मद्दतले सर्वाधिक ८१ रनको योगदान गरे । यसैगरी कप्तान मिचेल स्यान्टनरले २८, विल योङले २२, ड्यारिल मिचेलले १७, टम लाथमले १४ र ग्लेन फिलिप्सले १२ रन बनाए ।
भारतका लागि वरुण चक्रवर्तीले १० ओभरमा ४२ रन खर्चिदै सर्वाधिक पाँच विकेट लिए । यसैगरी कुलदीप यादवले दुई तथा हार्दिक पाण्डेया, अक्षर पटेल र रविन्द्र जडेजाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४९ रनको योगफल तयार पारेको थियो ।
भारतका लागि श्रेयस अय्यरले ९८ बलमा चार चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७९ रनको योगदान गरे । यसैगरी हार्दिक पाण्डेयाले ४५, अक्षर पटेलले ४२, केएल राहुलले २३, रविन्द्र जडेजाले १६, कप्तान रोहित शर्माले १५ र विराट कोहलीले ११ रन बनाए ।
चौथो विकेटका लागि श्रेयस र अक्षरले ९८ रनको साझेदारी गरे । न्युजिल्यान्डका लागि म्याट हेनरीले आठ ओभरमा ४२ रन खर्चिदै सर्वाधिक पाँच विकेट लिए । यसैगरी कायल जिमिसन, विलियम पिटर ओ’रोर्क, मिचेल स्यान्टनर र रचिन रविन्द्रले समान एक विकेट लिए ।