काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) का लागि इन्डिजका चाडविक वाल्टन र हङकङका बाबर हायत नेपाल आइपुगेका छन् ।
उनीहरुलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले अनुबन्ध गरेको छ ।
मंगलबार नेपाल आइपुगेका वाल्टन र हायतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णालीका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए ।
वाल्टनले वेस्ट इन्डिजका लागि १९-ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा २२५ रन बनाएका छन् ।
यसैगरी हायतले हङकङका लागि ७९ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा दुई शतक र १० अर्धशतकसहित १ हजार ९१० रन बनाएका छन् ।
कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा कर्णालीसँगै सुदूरपश्चिम रोयल्स पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।
कर्णालीले मंसिर १७ गते जनकपुरसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।