काठमाडौं । नेपालले नेत्रहीन क्रिकेट विश्वकपमा लगातार दोस्रो जित दर्ता गरेको छ । मंगलबार नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गर्यो ।
जितसँगै नेपालले चार खेलमा चार अंक जोडेको छ । यसअघि श्रीलंकासँग ७० र बंगलादेशसँग ६७ रनले पराजित भएको नेपालले अफगानिस्तालाई १०८ रनले हराएको थियो ।
नेपालले प्रस्तुत गरेको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभर नै ब्याटिङ गरे पनि दुई विकेट गुमाउँदै १८७ रन बनायो
दक्षिण अफ्रिकाका बुहले भिडलाले ७१ बलमा आठ चौकासहित अविजत १०० रनको योगदान दिए। यसैगरी लेसिबा एफ्राइम माथापोले ४६ र लेसेडी लेसुफी अविजित ११ रन बनाए ।
त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १९८ रनको योगफल तयार पारेको थियो।
नेपालका लागि नरेश चौधरीले ५७ बलमा चार चौकाको मद्दतले सर्वाधिक ८० रनको योगदान गरे । यसैगरी सागर लामाले ४०, पदम बदाइलाले ३४ र भरत थापाले ११ रन जोडे ।
दक्षिण अफ्रिकाका लागि भिडलाले एक विकेट लिए।
अब नेपालले लिग चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली पाकिस्तानको सामना गर्नेछ ।