काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले छैटौं विदेशी खेलाडीका रूपमा इङ्लिस अलराउन्डर बेन माइकलाई अनुबन्ध गरेको छ ।
जनकपुरले सामाजिक सञ्जालमार्फत २६ वर्षीय माइकलाई अनुबन्ध गरेको छ । माइकले ६३ ट्वान्टी २० खेलमा ५७ विकेट लिनुका साथै ६६९ रन बनाएका छन् ।
टोलीले यसअघि न्युजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प, पाकिस्तानका मोहम्मद मोहसिन र श्रीलंकन मुलका अमेरिकी लाहिरु मिलन्था र पाकिस्तान सोहेब मक्सुदलाई भित्र्याएको थियो ।
जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय किक्रेट टोलीका विकेटकिपर तथा ब्याटर आसिफ शेख छन् । यसैगरी टोलीले पुबुदु दासानायकेलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा जनकपुरसहित लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।