काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले गाडी प्रदान गर्ने भएको छ ।
मंगलबार सम्झौतापत्रमा एनपिएलको व्यावसायिक अधिकार पाएको ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूहअन्तर्गतको एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरे ।
आयोजक नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले यो नेपाली क्रिकेट इतिहासमै पहिलो पटक खेलाडीले गाडी पुरस्कार पाउन लागेको बताए ।
‘नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक खेलाडीले पुरस्कारबापत गाडी पाउँदै छन्। यस सहकार्यका लागि शारडा समूहलाई धन्यवाद,’ सचिव खड्काले भने ।
उत्कृष्ट खेलाडीले पाउने गाडी भने सार्वजनिक गरिएको छैन । त्यसबारे छिट्टै जानकारी दिने सचिव खड्काले बताए ।
प्रतियोगिताको पहिलो संस्करण मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने छन् ।