काठमाडौं । अर्को महिना प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग आयोजना हुने भएको छ ।
नेपाल भलिबल संघको आयोजनामा हुने लिग वैशाख १० देखि १९ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्ड हलमा सन्चालन हुने भएको छ।
महिला र पुरुष दुवैतर्फको विजेताले १० लाख, दोस्रोले ५ लाख र तेस्रो टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । महिला र पुरुषतर्फका सर्वोत्कृष्ट खेलाडीलाई समान ६० तथा उत्कृष्ट सर्भर, ब्लकर, लिबेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँ पुरस्कार दिइनेछ ।
प्रतियोगितामा पुरुषतर्फ एनभिए च्याम्पियनसिपबाट छनोट भएका ८ टोली र महिलातर्फ ६ टोली गरी कुल १४ टोलीको सहभागिता रहनेछ।
पुरुषतर्फको टिमहरूमा हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपिएफ क्लब, खिल्जी युवा क्लब लुम्बिनी, पश्चिम रुकुम भलिबल टिम, कोशी प्रदेश र बुढानिलकण्ठ भलिवल क्लब छन् ।
महिलातर्फ न्यु डाइमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल प्रहरी, एपीएफ क्लब, सुदुरपश्चिम प्रदेश, एभरेष्ट भलिवल क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सहभागी छन् ।
यस्तै यस प्रतियोगितामा सहभागी काठमाडौं उपत्यका बाहिरको टिमलाई बस्न र खानको लागि प्रतिव्यक्ति दैनिक रु १२०० र उपत्यका भित्रका टिम सदस्यलाई रु ३०० प्रदान गरिनेछ । आयोजकका अनुसार प्रतियोगितामा रु १ करोड १५ लाख खर्च हुनेछ । सहभागी टिमले बढीमा ३ जना विदेशी खेलाडी खेलाउन पाउने समेत संघले जनाएको छ ।

