काठमाडौं । मोइन अलिको अलराउण्ड प्रदर्शनको सहयोगमा कराँची किंग्सले पाकिस्तान सुपर लिग(पिएसएल) मा विजयी सुरुवात गरेको छ ।
शुक्रबार भएको लिगमा आफ्नो पहिलो खेल खेलेको कराँचीले क्वेटा ग्लाडियटर्सलाई १४ रनले पराजित गरेको हो । लाहोरमा सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको कराँचीले २० ओभरमा ७ विकेट गुमाएर १८१ रनको योगफल तयार गरेको थियो ।
कराँचीको जितमा अलिले ब्याटिङ तर्फ अविजित ४८ रन बनाउँदा बलिङमा १ विकेट र २ महत्वपुर्ण क्याच लिएका थिए । अलिले २९ बलको सामना गर्दा ४ चौका र ३ छक्का प्रहार गरेका थिए । कप्तान डेबिड वार्नर २२ बलमा ३५, साद बाग ३० तथा सलमान अलि आघा २२ रनमा आउट भए ।
क्वेटाका लागि अहमद दानियालले ३ तथा अल्जारी जोसेफले २ विकेट लिए । १८२ रनको लक्ष्य पछ्याएको क्वेटाले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्र बनाउँन सक्यो । क्वेटाका लागि ओपनर शम्यल हुसैनले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले । उनले २४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । कप्तान समेत रहेका अर्का ओपनर साउद सकिल २५ बलमा ३३ रनमा आउट भए ।
क्वेटाले राम्रो सुरुवात गरे पनि पछिल्ला क्रमका ब्याटर नचल्दा पहिलो खेलमा हार बेहोरेको हो । राइली रउसो २५ तथा हसन नवाज १९ रनमा आउट हुँदा बेन म्याकडरमोट २५ रनमा अविजित रहे ।
कराँचीका लागि हसन अलिले ४ तथा मोइन, एडम जाम्पा र सलमान आघाले समान १ विकेट लिए । पहिलो खेलमा नै विजयी सुरुवात गरेको कराँची २ अँकका साथ दोस्रो स्थानमा रहँदा क्वेटा तेस्रो स्थानमा छ ।
