काठमाडौं । लगातार दोस्रो जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको समूह ‘डी’ को खेलमा आर्मीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई सोझो सेटमा हरायो । यसअघि नै विभागीय टोली नेपाल पुलिस क्लब, हेल्प नेपाल र रुकुम पश्चिम अन्तिम आठमा प्रवेश गरेका थिए ।
कीर्तिपुर प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ । खेलमा आर्मी २५–१९, २५–२१ तथा २५–२१ ले नै विजयी भयो । आर्मीले पहिलो खेलमा कोशी प्रदेश भलिबल संघलाई सोझो सेटमा हराएको थियो । लगातार दोस्रो जितपछि आर्मीले समूह ‘डी’ मा ६ अंक जोडेको छ ।
आज नै भएको समूह ‘सी’ को खेलमा रुकुम पश्चिमले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो । तीन पाकिस्तानी खेलाडीको सानदार प्रदर्शनमा पहिलो र दोस्रो सेट २५–२० र २५–१८ ले जितेको रुकुम चौथो सेटमा भने २३–२५ ले पराजित भयो । तर, चौथो सेटमा टोली २५–१८ ले विजयी हुँदै तीन अंक जोड्न सफmल भएको हो । पहिलो खेलमा रुकुम पश्चिमले बुढानिलकण्ठ भलिबल क्लबलाई सोझो सेटमै हराएको थियो ।
प्रतियोगिताको चौथो दिनपनि चार खेल आयोजना हुँदैछन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा सोमबार भने बिहान पुरुषतर्फ र दिउसो महिलातर्फका खेल भइरहेका छन् । यसअघि तीन दिन सुरुमा महिलातर्फका खेल भएका थिए ।
यता, महिलातर्फ पनि दुई खेल हुनेछन् । पहिलो खेलमा उपाधि दाबेदार आर्मी र न्यु डायमन्ड प्रतिस्पर्धा गर्दैछन् । यो खेल जित्ने टोली समूह ‘ए’ को विजेता बन्नेछ । पहिलो खेलमा आर्मीले एभरेष्ट भलिबल तथा न्यु डायमन्डले चुली युवा क्लबलाई हराउँदै तीन अंक जोडेका थिए ।
दिनको अन्तिम खेलमा साझ ४ बजे सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् भिड्दैछन् । प्रतियोगितामा दुबै टोली पहिलो जितको खोजीमा छन् । समूह ‘बी’ को पहिलो खेलमा सुदूरपश्चिम नेपाल पुलिस तथा मधेश एपिएफसँग सोझो सेटमा पराजित भएका थिए ।
