काठमाडौं । नवौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपको चौथो दिनपनि चार खेल आयोजना हुँदैछन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा सोमबार भने बिहान पुरुषतर्फ र दिउसो महिलातर्फका खेल हुनेछन् । यसअघि तीन दिन सुरुमा महिलातर्फका खेल भएका थिए ।
बिहान १० बजे हुने समूह ‘सी’ को खेलमा रुकुम पश्चिम ट्रेनिङ सेन्टरले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरसँग प्रतिस्पर्धा गर्नेछ । जावलाखेलको यो पहिलो खेल हो । यो खेलमा जित निकाल्दै रुकुम पश्चिम ६ अंकसहित क्वार्टरफाइनल पक्का गर्न चाहन्छ । पहिलो खेलमा रुकुम पश्चिमले बुढानिलकण्ठ भलिबल क्लबलाई सोझो सेटमै हराएको थियो । रुकुम पश्चिम तीन पाकिस्तानी खेलाडी अनुबन्ध गरेपछि निकै बलियो देखिन्छ ।
यता, समूह ‘डी’ को खेलमा १२ बजे विभागीय टोली त्रिभुवन आर्मी क्लबले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरको सामना गर्नेछ । कीर्तिपुर प्रतियोगितामा पहिलो खेलमै जित निकाल्ने योजनामा छ । आर्मी पनि लगातार दोस्रो जित निकाल्दै ६ अंकसहित क्वार्टरफाइनल पुग्ने रणनीतिमा छ । आर्मीले पहिलो खेलमा कोशी प्रदेश भलिबल संघलाई सोझो सेटमा हराएको थियो ।
यता, महिलातर्फ पनि दुई खेल हुनेछन् । पहिलो खेलमा उपाधि दाबेदार आर्मी र न्यु डायमन्ड प्रतिस्पर्धा गर्दैछन् । यो खेल जित्ने टोली समूह ‘ए’ को विजेता बन्नेछ । पहिलो खेलमा आर्मीले एभरेष्ट भलिबल तथा न्यु डायमन्डले चुली युवा क्लबलाई हराउँदै तीन अंक जोडेका थिए ।
दिनको अन्तिम खेलमा साझ ४ बजे सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् भिड्दैछन् । प्रतियोगितामा दुबै टोली पहिलो जितको खोजीमा छन् । समूह ‘बी’ को पहिलो खेलमा सुदूरपश्चिम नेपाल पुलिस तथा मधेश एपिएफसँग सोझो सेटमा पराजित भएका थिए ।
