काठमाडौं । गण्डकी प्रदेश भलिबल संघले आर्थिक अभावका कारण नेपाल भलिबल संघ (एनभिए)ले आयोजना गर्ने एनभिए महिला तथा पुरुष च्याम्पियनसिपमा सहभागी हुन नसकेको जानकारी गराएको छ ।
प्रतियोगिताको अघिल्लो दिन पत्र लेख्दै गण्डकी प्रदेश भलिबल संघले एनभिएसँग क्षमा मागेको छ । राष्ट्रिय टिमको खेलाडी छनोटको विषयलाई लिएर सुरु भएको विवाद अहिले भने आर्थिक अभावको कारण देखाइएको छ ।
गण्डकी भलिबल संघका कार्यवहाक अध्यक्ष राजेन्द्र जिसी र महासचिव टहल सिंह थापाले संयुक्त हस्ताक्षर गर्दै आर्थिक अभावका कारण एनभिए च्याम्पियनसिप र टाइगर कप दुबैमा सहभागी हुन नसकको प्रष्ट पारेका छन् ।
साथै संघले एनभिए लिग भब्य सफलताको लागि शुभकामना पनि दिएको छ ।
शुक्रबार हुने उद्घाटन खेलमा हेल्प नेपाल र विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबबीच दिउँसो ३ बजे खेल हुने भएको छ ।
एनभिएले २० पुससम्म आयोजना गर्ने प्रतियोगितामा २० टिम सहभागी हुनेछन् । प्रतियोगिताबाट १४ क्लब प्रधानमन्त्री कप लिगको लागि छनोट हुनेछन् ।
पुरुषतर्फ तीन विभागीय क्लबहरु (त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ)सहित रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुण्ड भलिबल क्लब (लुम्बिनी), हेल्प नेपाल स्पोट्र्स क्लब, कोशी प्रदेश भलिबल संघ, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब (काठमाडौं), खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र (काठमाडौं) सहभागी छन् ।
महिलातर्फ पनि तीन विभागीय टोलीहरु (पुलिस, आर्मी र एपिएफ)सँगै न्यु डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब, चुली युवा क्लब (कर्णाली), सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् छन् ।
यो च्याम्पियनसिपबाट पुरुषतर्फ ८ तथा महिलातर्फ ६ टिम प्रधानमन्त्री एनभिए लिगको लागि छनोट हुनेछन् ।
