काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका सदस्यद्वय उषा भण्डारी र पुनम चन्दले माल्दिभ्समा हुने प्रतियोगता खेल्ने भएका छन् ।
भाभु एटोल भलिबल प्रतियोगिताको लागि उनीहरू आइतबार नै माले पुगेका हुन् । दुवैलाई फुलिधुले विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो ।
अगस्त १५ देखि २७ सम्म हुने यो प्रतियोगितामा पाँच टोलीको सहभागिता रहने छन् । प्रतियोगिताका लागि श्रीलंकन खेलाडी पनि विभिन्न क्लबमा अनुबन्ध भएका छन् ।
उषाले टोलीलाई च्याम्पियन बनाउने लक्ष्य रहेको खेलाडी डटकमलाई बताइन् । ‘प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रयास हुनेछ । टोलीलाई उपाधि दिलाउने लक्ष्यका साथ हामी माल्दिभ्स आएका छौं ।
उषाले यसअघि पनि आर्मीको क्लब दिबेही सिफान्गीबाट माल्दिभ्समा खेलिसकेकी छन् । पुनम भने पहिलो पटक माल्दिभ्सको क्लबबाट खेल्दैछिन् ।
दुवै खेलाडी विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्ने गर्छन् ।
यसैगरी भदौमा हुने एभरेस्ट महिला भलिबल लिग (इभिडब्लुएल) उषा काठमाडौं स्पाइकर्स र पुनम पोखरा निन्जाजमा अनुबन्ध भएका छन् ।