काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकरले लोकबहादुर बुढालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि भलिबलसँग जोडिएका बुढाले पहिलो पटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षकको जिम्मेवारी पाएका हुन् ।
पहिलो संस्करणमा काठमाडौंको मुख्य प्रशिक्षकमा नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पनि रहेका जगदिश भट्ट थिए । भट्ट प्रतियोगिताको डाइरेक्टर भएकाले उनले काठमाडौंको प्रशिक्षक छोडेका हुन् ।
त्रिभुवन आर्मी क्लबबाट खेलको बुढा अहिले सोही क्लबको प्रशिक्षण जिम्मेवारी सम्हाली रहेका छन् । उनले राष्ट्रिय टिममा कोचिङ स्टाफको रूपमा काम गरिसकेका छन् ।
बुढाको प्रशिक्षण अनुभवले राम्रो नतिजा निकाल्ने काठमाडौंलेले विश्वास लिएको छ । बुढाले आफ्नो जिम्मेवारी पूरा गर्ने र राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताएका छन् ।
एभरेस्ट महिला भलिबल लिगको प्रशिक्षकमा नियुक्त हुँदा खुशी छु र काठमाडौंलाई धन्यवाद दिन चाहन्छु । प्रशिक्षकको रुपमा पहिले देखि काम गरिरहेको छु। अक्सनबाट खेलाडीहरु अनुबन्ध भइसकेको छ । अब छिटै विदेशी खेलाडीहरु पनि अनुबन्ध हुने चरणमा छ । म टोलीलाई राम्रो नतिजा दिलाउन प्रयास गर्नेछु,’ बुढाले भने ।
नेपाली राष्ट्रिय महिला टोलीकी स्पाइकर उषा भण्डारी मार्की रहेको काठमाडौंमा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् ।
यसअघि अक्सनबाट कविता भट्टलाई भित्र्याए पनि अस्ट्रेलिया गएका कारण उनको स्थानमा भुवनेश्वरी चन्दलाई राखिएको काठमाडौंले जनाएको छ।
इडब्लुभिएलको दोस्रो संस्करण भदौ २० देखि २८ सम्म हुँदैछ ।