काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को फ्रेन्चाइज काठमाडौं स्पाइकर्सले तेस्रो विदेशी खेलाडीका रूपमा टर्कीकी फुलडेन उराल अनुबन्ध गरेको छ ।
काठमाडौंले यसअघि बुल्गेरियन सेटर एन्ड्रिया स्भेतानोभा र टर्कीकी अपोजिट हिटर पेलिन एरोक्टेलाई भित्र्याएको थियो ।
३३ वर्षीय आउटसाइड हिटर उरालले भलिबल नेसन्स लिग २०१८ मा टर्कीको प्रतिनिधित्व गरेकी थिइन् । उनी टर्किस लिगको चर्चित अनुहार हुन् ।
सन् २००७ बाट व्यावसायीक करियर सुरु गरेकी उरालले एन्करा, बेसिक्टस, गालातासारे जस्ता क्लबबाट खेलिसकेकी छन् ।
नेपाली राष्ट्रिय भलिबल टोलीकी प्रमुख खेलाडी उषा भण्डारी मार्की प्लेयर रहेको काठमाडौंले जगदिश भट्टलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ ।
प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक हुन लागेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र कर्णाली यसभिसले प्रतिस्पर्धा गर्ने छन् ।
काठमाडौंले उद्घाटन खेलमा ललितपुर क्विन्सको सामना गर्नेछ ।
काठमाडौंको टोली
उषा भण्डारी (मार्की), आरती सुवेदी, कोपिला राना, कमला पुन, उषा विष्ट, निशा महर वसन्ती साउद, रश्मिता दुरा, रितिका भट्ट (ट्यालेन्ट हन्ट), एन्ड्रिया स्भेतानोभा (बुल्गेरिया), पेलिन एरोक्ट(टर्की), फुलडेन उराल (टर्की)