काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी र शीर्ष डिभिजन लिगका क्लबहरुको छलफल जारी छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग सम्बन्धमा बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा चलिरहेको छ ।
यसअघि बिहान ११ बजे राष्ट्रिय खेलकुद परिषद (राखेप)का अध्यक्ष समेत रहेका गुप्ता र एन्फा पदाधिकारीबीच छुट्टै बैठक सम्पन्न भएको थियो । लगत्तै गुप्ता डिभिजन क्लबसँगको बैठकमा जोडिएका हुन् ।
मन्त्रालयको बैठकमा एन्फाका महासचिव किरण राईले शीर्ष डिभिजन लिग गर्न पर्याप्त रकम नभएकाले सरकारबाट सहयोगको अपेक्षा गरेको बताए । छलफलमा राईले नेपाली फुटबलको वर्तमान अवस्थाको बारेमा पनि जानकारी गराएका थिए ।
पकंजविक्रम नेम्वाङको नेतृत्वमा रहेको एन्फा हालसम्म एक पटक मात्रै शीर्ष डिभिजन लिग आयोजना गरेको छ । पछिल्लो पटक ‘ए’ डिभिजन लिग २०८० को जेठमा सम्पन्न भएको थियो ।
