काठमाडौं । इण्डियन प्रिमियर लिग(आइपिएल) को खेलमा मुम्बई इण्डियन्सले कोलकाता नाईट राइडर्सलाई पराजित गरेर विजयी सुरुवात गरेको छ ।
मुम्बईले सन् २०१२ पछि सिजनको पहिलो खेलमा जित जित्नेक्रममा कोलकातालाई ६ विकेटले पराजित गरेको हो । मुम्बईको घरेलु मैदानमा भएको खेलमा कोलकाताले दिएको २२१ रनको लक्ष्य मुम्बईले १९ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
मुम्बईको जितमा ओपनर रायन रिकल्टनले सर्वाधिक ८१ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए । उनले ४३ बलमा ४ चौका र ८ छक्का प्रहार गरे ।पहिलो विकेटका लागि रोहित शर्मासँग मिलेर उनले १४८ रनको शतकीय साझेदारी गरे । रोहित ३८ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ७८ रन बनाउँदै आउट भए ।
तिलक बर्मा २० तथा सुर्यकुमार यादव १६ रनमा आउट हुँदा कप्तान हार्दिक पाण्ड्या १८ रनमा अविजित रहे । कोलकाताका लागि बैभव अरोरा, कात्तिक त्यागी र सुनिल नारायणले समान १ विकेट लिए ।
त्यसअघि मुम्बईको घरेलु मैदानमा भइरहेको खेलमा पहिले ब्याटिङको निम्ता पाएको पाहुना टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२० रनको योगफल तयार गरेको हो ।
कोलकाताका लागि कप्तान अजिंका राहाणेले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ खेले । उनले ४० बलको सामना गर्दै ३ चौका र ५ छक्का प्रहार गरे । पहिलो विकेटका लागि कप्तान राहाणेले फिन एलेनसँग मिलेर ६९ रनको साझेदारी गरे । एलेन १७ बलमा ६ चौका र २ छक्का सहयोगमा ३७ रन प्रहार गरे ।
अंगकृष रघुवंशी ५१ रनमा अर्धशतक बनाउँदै आउट भए । रघुवंशीले २९ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे । रिंकु सिंह २१ बलमा ४ चौकाको सहयोगमा ३३ रनमा अविजित रहे ।
मुम्बईका लागि शार्दुल ठाकुरले ३ विकेट लिए । कप्तान हार्दिक पाण्ड्याले १ विकेट आफ्नो नाममा गरे । पहिलो खेलमा जितका साथ मुम्बई २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहँदा पराजित कोलकाता अंकबिहिन छ ।
