काठमाडौं । इण्डियन प्रिमियर लिग(आइपिएल) को खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई २२१ रनको लक्ष्य दिएको छ ।
मुम्बईको घरेलु मैदानमा भइरहेको खेलमा पहिले ब्याटिङको निम्ता पाएको पाहुना टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२० रनको योगफल तयार गरेको हो ।
कोलकाताका लागि कप्तान अजिंका राहाणेले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ खेले । उनले ४० बलको सामना गर्दै ३ चौका र ५ छक्का प्रहार गरे । पहिलो विकेटका लागि कप्तान राहाणेले फिन एलेनसँग मिलेर ६९ रनको साझेदारी गरे । एलेन १७ बलमा ६ चौका र २ छक्का सहयोगमा ३७ रन प्रहार गरे ।
अंगकृष रघुवंशी ५१ रनकाे अर्धशतकीय पारी खेल्दै आउट भए । रघुवंशीले २९ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे । रिंकु सिंह २१ बलमा ४ चौकाको सहयोगमा ३३ रनमा अविजित रहे ।
मुम्बईका लागि शार्दुल ठाकुरले ३ विकेट लिए । कप्तान हार्दिक पाण्ड्याले १ विकेट आफ्नो नाममा गरे । मुम्बई सन् २०१२ पछि सिजनको पहिलो खेलमा जित हात पार्ने लक्ष्यका साथ मैदान छ ।
लामो समयको हारको शृङ्खला तोड्न मुम्बईले कोलकाता नाइट राइटर्सलाई प्रतिद्वन्दीका रुपमा पाएको छ ।
यसपटकको आइपिएल अक्सनमा सर्वाधिक रकम खर्चिएको कोलकाताले राम्रा मानिएका तिव्र गतिका बलरहरु टिममा भित्राएको थियो । तर ती मध्येका धेरैले चोटका कारण सिजन गुमाएका छन् । यसले कोलकातालाई धेरै नोक्सान पर्ने देखिन्छ ।
सोही कमजोरीको फाइदा लिने लक्ष्यमा मुम्बई रहेको छ । मुम्बईलाई कोलकातासँगको खेलमा अर्को फाइदा समेत रहेको छ । वानखडेमा मुम्बई कोलकातासामु हाबी रहेको छ । वानखडेमा कोलकातासँगको जम्मा १२ भेट भएकोमा २ पटक मात्र खेल गुमाएको इतिहासले पनि मुम्बईलाई केही सहज हुनेछ ।
मुम्बई र कोलकाताबीच हालसम्म जम्मा ३५ खेलमा आमने सामने भएकामा २४ खेल मुम्बईले आफ्नो पक्षमा पार्दा ११ खेल कोलकाताले जितेको छ ।
