काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब बागमती प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ ।
बागमतीलाई हराएको आर्मीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको हो । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले बागमतीलाई ३ विकेटले पराजित गरेको हो । वर्षा कारण खेल २८ ओभरमा छोट्याइएको थियो ।
बागमतीले दिएको २०९ रनको लक्ष्य आर्मीले इनिङको अन्तिम बल बाँकी रहँदा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले सर्वाधिक रुपमा अविजित ९० रन बनाए । अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक इनिङमा चौका र अन्तिम बलमा छक्काका साथ टोलीलाई रोमाञ्चक जित दिलाए । बागमतीका लागि अन्तिम ओभरको जिम्मा पाएका रिजन ढकालले १३ रन रोक्न नसक्दा बागमीले ऐतिहासिक उपलब्धी हासिल गर्न सकेन ।
आर्मीका लागि ओपनर तृतराज दासले ४८ बलमा ५४ रनको अर्धशतकीय इनिङ तथा नरेन सायदले २६ रनको पारी खेल्दै आउट भए ।
बागमतीका लागि इशान पाण्डे र विवेक राना मगरले समान २ तथा कप्तान सन्दीप र सोनु देवकोटाले समान १ विकेट लिए । त्यसअघि टस आर्मीले टस जितेर बलिङ रोजे पछि पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २८ ओभरमा २०८ रनको योगफल तयार गरेको थियो ।
बागमतीका लागि ओपनर आशुतोष घिरैयाले सर्वाधिक ३८ रन जोडे । उनी ३६ बलको सामना गर्दै ५ चौका प्रहार गर्न सफल भए । पवन थापा ३७ बलमा ३५, विवेक थापा मगर २४ बलमा ३० तथा प्रतिस जिशी १५ बलमा २८ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने २१ तथा सोनु देवकोटा ३० रनमा अविजित रहे ।
आर्मीका लागि नरेन साउदले ४ तथा शाहब आलम, दुर्गेश गुप्ता र बसिर अहमदले समान १ विकेट हासिल गरे । जितपछि ४ खेलमा ७ अंकका साथ आर्मी शीर्ष स्थानमा उक्लिएको छ । पराजित बागमती समान खेलमा २ अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ ।
