काठमाडौं । स्ट्राइकर सुजन डंगोलको ह्याट्रिकप्रेरित श्री भगवती क्लबले पुछारबाट दोस्रो स्थानमा रहेको काँक्रेबिहार क्लबमाथि ६–० को सहज जित हासिल गरेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा श्री भगवतीका लागि सुजनबाहेक दिवश उराउ, सुरज गुरुङ र शिशिर लेखीले गोल गरे । ६४औं मिनेटमा काँक्रेबिहार १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा भगवतीले उठायो । त्यसपछि चार गोल सम्भव भएका थिए ।

जितसँगै श्री भगवती ८ खेलमा ८ अंक जोड्दै १२औं स्थानमा उक्लिएको छ । समान खेलमा काँक्रेबिहारको मात्र एक अंक छ ।
दिनको दोस्रो खेलमा शीर्ष स्थानको एपिएफ एफसीले नेपाल पुलिस क्लबसँग २–२ को बराबरी खेल्यो । आठौं चरणपछि एपिएफ २० अंकसहित शीर्ष स्थानमा छ । उता पुलिस ८ अंक जोड्दै १०औं स्थानमा उक्लियो ।
दिनको अन्तिम खेलमा चर्च ब्वाइज युनाइटेड र मछिन्द्र क्लब आमने–सामने हुनेछन् ।
