काठमाडौं । एन्फा राष्ट्रिय लिगमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबमाथि २–१ को रोमाञ्चक जित हासिल गरेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको अन्तिम खेलमा अन्तिम समय सम्हालिन नसक्दा फ्रेन्ड्सले एक अंक गुमायो । नवराज गुरुङले इन्जुरी समयमा गोल गर्दै मनाङलाई तीन अंक दिलाए ।
खेलको १२औं मिनेटमा एन्ड्रियु इबोले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको दुई मिनेट बित्न नपाउँदै प्रशान्त लक्समले फ्रेन्ड्सलाई खेलमा फर्काएका थिए । अन्तिम सेकेन्ड्सतिर फ्रेन्ड्सले आफूलाई सम्हाल्न नसक्दा लिगमा तेस्रो हार बेहोर्यो ।
मनाङको यो लगातार दोस्रो जित हो । जितसँगै मनाङ पाँच खेलमा ६ अंक जोड्दै अंकतालिकाको आठौं स्थानमा उक्लियो । समान खेलबाट ४ अंक जोडेको फ्रेन्ड्स नवौंबाट १०औं स्थानमा झरेको छ ।

दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले श्री भगवती क्लबमाथि ३–१ को पुनरागमन जित हासिल गर्यो । श्री भगवतीले खेलको १२औं मिनेटमा अजित लामाको गोलमार्फत अग्रता लिएको थियो । पहिलो हाफमै जिलेश्पीजंग कार्कीले खेललाई बराबरीमा ल्याए । त्यसपछि नवयुग श्रेष्ठले दुई गोल गरे ।
जितसँगै पाँच खेलमा ११ अंक जोड्दै आर्मी चौथो स्थानमा उक्लियो । श्री भगवती समान खेलबाट चार अंक जोड्दै १२औं स्थानमा झरेको छ ।
दिनको पहिलो खेलमा अंकविहीन काँक्रे बिहार क्लबलाई ३–० ले हराउँदै प्लानिङ ब्वाइज युनाइटेड पाँचौं स्थानमा उक्लियो । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा प्लानिङलाई जित दिलाउन बवीन बोहरा, रोमन भुजेल र हेमन लिम्बूले गोल गरे ।
लिगमा प्लानिङको यो तेस्रो जित हो । यो नतिजासँगै पाँच खेलमा १० अंक जोड्दै प्लानिङले दुई स्थान सुधार गर्यो । समान खेल खेलेको काँक्रे बिहारले सबैमा विपक्षीलाई नतिजा सुम्पिएको छ ।
