काठमाडौं । दोस्रो ट्वान्टी २० आईमा अस्ट्रेलियालाई ९० रनले हराउँदै घरेलु टोली पाकिस्तानले तीन खेलको शृंखला २–० ले जितेको छ । यसअघि पहिलो खेलमा पाकिस्तान २२ रनले विजयी भएको थियो । अब, अन्तिम खेल आइतबार लाहोरमै हुनेछ ।
शनिबार गद्दाफी रंगशालामा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ९९ रनको विशाल लक्ष्य दियो । पाकिस्तानले कुनै पनि ट्वान्टी २० मा बनाएको यो नै ठूलो स्कोर हो ।
जवाफमा अस्ट्रेलिया १५.४ ओभरमा अल आउट हुँदा मात्र एक सय ८ रन बनायो । पाकिस्तानको स्पिनर खेलमा हाबी हुँदा अस्ट्रेलियाले ठूलो साझेदारी बनाउनै सकेन ।
घरेलु टोलीका कप्तान सलमान अली आघा र विकेटकिपर उस्मान खानले अर्धसतक बनाए । आघाले ४० बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ७६ रन बनाए । उस्मानले ३६ बलमा चार चौका र २ छक्कासहित ५३ रन बनाएका हुन् ।
अस्ट्रेलियाका क्यामरुन ग्रिनले सर्वाधिक ३५ रन बनाए । म्याथ्यु शर्ट २७ रनको योगदान गरेका थिए । पाकिस्तानका अबरार अहमद र शादाब खानले समान ३ विकेट लिएका थिए ।
यो शृंखलापछि दुबै टोली भारत र श्रीलंकाले आयोजना गर्ने ट्वान्टी २० विश्वकपमा सहभागी हुनेछन् ।
