काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ महिला च्याम्पियनसिपमा नेपालले खराब सुरुआत गरेको छ ।
शनिबार प्रतियोगिताको पहिलो दिन, दोस्रो खेलमा नेपालले भारतसँग १-० को हार बेहोर्यो । हारसँगै अंकतालिकाको शीर्ष दुईभित्र अटाउँदै फाइनलमा प्रवेश गर्ने नेपालको चुनौतीमा धक्का पुगेको छ ।
चार टोलीको सहभागिता रहेको प्रतियोगिता सिंगल राउन्ड रोविन लिग पद्धत्तिमा भइरहेको छ । यस्तोमा नेपालले बाँकीका दुई खेल जित्नैपर्ने हुन्छ ।

पोखरा रंगशालामा शनिबार लेफ्टब्याक आशिका कार्कीको गल्ती नेपालको हारको प्रमुख कारण बन्यो । बल क्लियर गर्न खोज्दा उनले बललाई बुटसँग ‘कनेक्ट’ गर्न सकिनन् । जसका कारण उनीबाट बल फुत्कियो । अनि विपक्षी खेलाडी प्रितिका बर्मनले त्यसको फाइदा उठाइन् । पेनाल्टी बक्सभित्र पुगेपछि प्रितिकाले अल्भा देवी सेन्जनलाई पास दिने कोशिस गरिन् । अल्भा देवीसम्म पास पुग्न नपाउँदै बललाई नेपालकी गोलकिपर झरना डुम्राकोटीले बचाइन् । तर, बल कुनै पनि डिफेन्डरको निगरनीमा नरहेकी पर्ल फर्नान्डेजसम्म पुग्यो । पर्लले लेफ्ट फुटबाट सहज गोल गरिन् ।
पर्लको प्रहारलाई नेपाली राइटब्याक ग्यान्सु डोल्मा लोले बचाउन त खोजिन् । तर, सकिनन् ।

यसअघि उद्घाटन खेलमा बंगलादेशले भुटानमाथि १२-० को फराकिलो जित हासिल गर्यो । नेपालले आफ्नो दोस्रो खेलमा सोमबार भुटानसँग खेल्ने तालिका छ । सोही दिन बंगलादेशले भारतसँग खेल्नेछ । यो खेलको विजेताले एक खेलअगावै फाइनलमा स्थान बनाउनेछ ।
