काठमाडौं । युवा मिडफिल्डर प्रशान्त लक्समले आसन्न एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबको जर्सी लगाउने भएका छन् ।
मंगलबार कुपण्डोलको फ्रेन्ड्स क्लबले फेसबुकमार्फत प्रशान्तलाई अनुबन्ध गरेको जानकारी गरायो ।
उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै आएका प्रशान्तले पछिल्लो पटक चाइनिज ताइपेइमा सम्पन्न एएफसी यु-२० एसियन कप छनोटमा नेपालको प्रतिनिधित्व गरेका थिए ।
त्यसअघि सन् २०२३ मा काठमाडौंमा भएको साफ यु-१९ च्याम्पियनसिप, २०२२ मा श्रीलंकामा भएको साफ यु-१७ च्याम्पियनसिप र सोही वर्ष भियतनाम सम्पन्न एएफसी यु-१७ एसियन कप छनोटमा प्रशान्त टोलीका प्रमुख खेलाडी थिए । श्रीलंका र भियतनाममा उनले ‘क्याप्टेन आर्मब्यान्ड’ लगाएका थिए ।
तीन वर्षअघि सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा प्रशान्त च्याम्पियन चर्च ब्वाइज युनाइटेडका सदस्य थिए । त्यसयता उनले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा झापा एफसी र तेस्रो संस्करणमा धनगढी एफसीको जर्सी लगाए ।
फ्रेन्ड्सले सोमबार मात्र विंगर दीपेश घले र गोलकिपर मौसम लुङ्गेली मगरलाई क्लबमा भित्र्याएको थियो । आइतबार फरवार्डद्धय राजेश परियार र आशिष चापागाई पनि टोलीमा जोडिएका थिए ।
राष्ट्रिय लिग यही पुस २५ बाट सुरु हुँदैछ । प्रतियोगितामा शीर्ष डिभिजनका १३ र प्रेसिडेन्ट लिगबाट छनोट भएका चारगरि कूल १७ टोलीको सहभागिता रहनेछ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग होम एण्ड अवे स्वरुपमा गर्ने, एउटै मैदानमा गर्ने र राष्ट्रिय लिग गर्ने जस्ता विभिन्न विकल्पमाथि पटकपटक विवादास्पद छलफल तथा आन्दोलनहरुपछि एन्फाले हालै क्लबहरुसँगको सहमतीमा पुष २५ बाट राष्ट्रिय लिग गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय लिगमा जिल्ला र प्रदेश च्याम्पियन हुँदै आएका टिमबीचको प्रतिस्पर्धा एन्फा प्रेसिडेन्ट्स लिगका शीर्ष ४ तथा अघिल्लो शीर्ष डिभिजन लिगका शीर्ष ६ टोली गरि १० टिमले मात्र खेल्न पाउने प्रावधान थियो ।
तर एन्फा र क्लबहरुको सहमतीपछि राष्ट्रिय लिगका लागि छनोट नै नभएका बाँकी ‘ए’ डिभिजन लिगका टिमले पनि खेल्न पाउने भएका हुन् । जसअनुरुप शीर्ष डिभिजनका हिमालयन शेर्पा बाहेक सबै १३ क्लब र प्रेसिडेन्ट्स लिगका शीर्ष चार गरि १७ टिमको सहभागितामा राष्ट्रिय लिग आयोजना हुँदैछ । एन्फाले यसका लागि टिम दर्ता फारम खुला गरेको थियो ।
