काठमाडौं । नेपाल ओलम्पिक कमिटी(एनओसी)को २१औं साधारणसभा सम्पन्न भएको छ ।
सोमबार अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा महासचिव राजीव श्रेष्ठले सन् २०२५ मा नेपालले सहभागिता जनाएको अन्तर्राष्ट्रिय प्रतियोगिता÷कार्यक्रमको प्रगति विवरण पेस गरे ।
यस्तै आन्तरिक लेखापरिक्षक रविन भुसालले आर्थिक वर्ष २०८१/२०८२ को विवरण र कोषाध्यक्ष टासी घलेको प्रतिनिधित्वमा प्रमुख लेखापाल राजन श्रेष्ठले सन् २०२६ को वार्षिक बजेट प्रस्तुत गरे ।
यसैगरी कार्यकारी सचिव सुजनलाल श्रेष्ठले सन् २०२६ मा हुने कार्यक्रमबारे जानकारी गराए । जापानमा हुने एसियाली खेलकुद, साउदी अरेबियामा हुने एसियन इन्डोर मार्सल आट्स गेम्स, सेनेगलमा हुने युथ ओलम्पिक, चीनमा हुने बिच गेम्सलगायत अन्तर्राष्ट्रिय प्रतियोगिताका बारेमा जानकारी गराइएको थियो ।
त्यस्तै ओलम्पिक सोलिडारिटी कोर्स, फन रन, लुम्बिनी पिस म्याराथन, स्पोर्टस कंग्रेस, ट्यालेन्ट हन्ट, अन्तर्राष्ट्रिय ओलम्पिक डे र एनओसी अवार्डको पनि आयोजना हुनेछन् ।
साधारणसभामा पूर्व खेलाडी तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक किरण वज्राचार्यको संयोजकमा ‘प्रिभेन्सन अन म्यानुपुलेसन अफ स्पोर्टस (पीएमसी)’ गठनका लागि प्रस्ताव गरिएको छ । साधारण सभाले जेन जी आन्दोलनका सहिदलाई श्रद्धान्जली अर्पण गर्दै राष्ट्रिय खेलकुद परिषद(राखेप)ले एसियाली खेलकुदमा सहभागिता जनाउने निर्णयको स्वागत गरेको छ ।
साधारण सभाले सातदोबाटोमा रहेको एनओसीको कार्यालय आफूलाई हस्तान्तरण गर्न पनि अनुरोध गरेको छ ।
कुल २३ संघका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रमले महासचिवको प्रगति विवरण, आर्थिक विवरण, वार्षिक बजेट र सन् २०२६ को कार्यक्रम पारित गरेको थियो ।
उद्घाटन सत्रमा महासचिव श्रेष्ठले स्वागत भाषण गरेका थिए । त्यस्तै सोही अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र खेल संघका तर्फबाट बेसबल तथा सफ्टबल संघका अध्यक्ष दीपक न्यौपाने शुभकामना सन्देश दिएका थिए ।
त्यस अवसरमा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुद विकासका लागि एनओसी सबैसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको भन्दै आफ्नो संस्था नेपाली खेलकुद र खेलाडीको विकासका लागि सधैं तत्पर रहेको बताए ।
