काठमाडौं । एन्फा यु-१६ युथ लिगमा मंगलबार फ्रेन्ड्स क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई २-१ ले हराएको छ । त्यस्तै नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लबले पनि आ-आफ्ना खेलमा विजयी हासिल गरेका छन् ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको अन्तिम खेलमा फ्रेन्ड्सलाई जित दिलाउन सायल परियार र सूजन बिकले गोल गरे । मनाङका लागि प्रकाश बुढामगरले गरेको गोल सान्त्वना बन्यो । जितसँगै ५१ अंकका साथ फ्रेन्ड्स अंकतालिकाको तेस्रो स्थानमा उक्लियो । समान अंक भएपनि गोल भिन्नताका आधारमा मनाङ चौथो स्थानमा झर्यो ।
दिनको दोस्रो खेलमा पुछारबाट तेस्रो स्थानमा रहेको आर्मीमाथि ३-१ को जित निकाल्दै पुलिस पुनः शीर्ष स्थानमा उक्लियो । पुलिसका लागि अभिशेष गौतमले दुई तथा नवीन गौतमले एक गोल गरे । आर्मीका लागि खेलको छैटौं मिनेटमा अनन्त थापाले सुरुआती अग्रता दिलाएका थिए । पुलिसको ५३ अंक जोड्दा आर्मीको मात्र १४ अंक छ ।
दिनको पहिलो खेलमा सातौं स्थानको एपिएफले प्लानिङ ब्वाइज युनाइटेडलाई ३–२ ले हरायो । एपिएफको जितमा सम्मर गोसाईले दुई गोल गरे । त्यस्तै अशिम खड्काको नाममा एक गोल रह्यो । तीन गोलले पछाडि परेको अवस्थानमा प्लानिङका लागि प्रशान्त तामाङ र ओम खड्काले गोल गरे ।
