काठमाडौं । एन्फा यु-१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेडले अंकतालिकाको शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबलाई १-१ को बराबरीमा रोकेको छ ।
मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको पहिलो खेलमा चर्च ब्वाइजले अग्रतालाई जोगाउन सकेन । आर्यन नेगीले ४१औं मिनेटमा गोल गर्दा चर्च ब्वाइज १-० ले अगाडि बढेको थियो । निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा रिजन राज गौतमले बराबरी गोल फर्काए ।
दिनको दोस्रो खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबले न्युरोड टिम (एनआरटी)सँग गोरहित बराबरी खेल्यो । तेस्रो खेलमा मछिन्द्र फुटबल क्लबले संकटा क्लबविरुद्ध ३-२ को रोमाञ्चक जित हासिल गर्यो ।
विकाश थापाको दुई र सुमन बम ठकुरीको एक गोलको मद्धतले पहिलो हाफको समाप्तिमा मछिन्द्र ३-० ले अगाडि बढेको थियो । दोस्रो हाफमा संकटाले दुई गोल गर्यो । सुमीत बलाम्पाकी र पेम्बा तामाङले स्कोरसीटमा आफ्नो नाम लेखाए ।
