काठमाडौं । सोमबारबाट पुनः सुचारु भएको एन्फा यु-१६ युथ लिगमा मनाङ मस्र्याङ्दी क्लब र फ्रेन्ड्स क्लबले आ-आफ्ना खेलमा विजयी हासिल गरेका छन् ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) मुख्यालयमा सम्पन्न दिनको दोस्रो खेलमा मनाङले विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध ५-० को सानदार जित निकाल्यो । तेस्रो खेलमा श्री भगवती क्लबलाई फ्रेन्ड्सले ३-१ ले पाखा लगायो ।
दिनको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले प्लानिङ ब्वाइज युनाइटेडमाथि ६-० को सानदार जित हासिल गरेको थियो ।
गत भदौ २३ गते जेनजी आन्दोलनले विकराल रुप लिँदा एन्फाले यो लिगसँगै अन्य गतिविधिहरु अनिश्चितकालका लागि स्थगित गरेको थियो । त्यसपछि असोज ६ गते एन्फाले परिमार्जित क्यालेन्डर सार्वजनिक गर्दै रोकिएको लिग कार्तिक १७ गतेबाट पुनः सुचारु भई मंसिर २ गतेसम्म चल्ने कुरा उल्लेख गरेको थियो ।
तर, कार्तिक १६ गते एन्फाले लिग पुनः स्थगित गरिएको जानकारी गराएको थियो । अन्ततः सोमबारबाट लिग सुचारुमा आएको हो ।
