काठमाडौं । इङ्लिस प्रिमियर लिगमा शीर्ष टोलीहरुले विजय हासिल गरेको साता आइतबार आर्सनलले पनि तीन अंक जोडेको छ ।
प्रिमियर लिगको शीर्ष टोली आर्सनलले आइतबार पुछारको उल्भसलाई २–१ को नतिजामा सिकार बनायो । घरेलु इमिरेट्स रंगशालामा पाएको यो जितपछि १६ खेलमा ३६ अंक जोडेको आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटीमाथि २ अंकको अग्रता कायम राख्न सफल भएको छ ।
घरेलु मैदानमा आर्सनलको जितका लागि दुवै गोल विपक्षी खेलाडीबाट आत्मघाति गोलका रुपमा उपहारस्वरुप प्राप्त भएका थिए । उल्भसका गोलकिपर साम जोनस्टोन र यार्सन मस्क्वेराले ७० र इन्ज्युरी समयमा गोल गरेपछि आर्सनल जितको लायक बनेको थियो । त्यसबीचमा टोलु अरोकोडारेले उल्भसका लागि गरेको बराबरी गोल मस्क्वेराले इन्ज्युरी समयमा आत्मघाति गोल गरेपछि सान्त्वनामा सीमित भएको थियो ।
दोस्रो स्थानको सिटीका लागि इर्लिङ हालान्डले दुई तथा फिल फोडेनले एक गोल गरेपछि टोली क्रिस्टल प्यालेस भ्रमणमा ३–० को सहज जित हासिल गर्दै शीर्ष टोलीमाथि दबाब कायम राख्न सफल भयो ।
यसैगरी वेस्ट ह्यामको भ्रमण गरेको एस्टन भिल्लाले पनि ३–२ को जित हासिल गर्दै तेस्रो स्थानमा पकड बलियो बनायो । यो जितपछि भिल्ला १६ खेलमा ३३ अंकका साथ शीर्ष टोली आर्सनलसँग ३ तथा दोस्रो स्थानको सिटीसँगको दुरी १ अंकमा कायम राख्न सफल भयो ।
इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबारै सम्पन्न अन्य खेलमा सन्डरल्यान्डले न्युक्यासललाई १–० को नतिजामा हराउँदा टोटनहम नटिङघम फरेस्टसँग ३–० ले निराश भयो । लिडस युनाइटेड र ब्रेन्टफोर्डबीचको खेल भने १–१ को बराबरीमा टुंगियो ।
