काठमाडौं । उदीयमान सेन्ट्रल मिडफिल्डर जय गुरुङ सुनौलो भविष्यको खोजीमा अस्ट्रेलिया पलायन भएका छन् ।
शनिबार अस्ट्रेलियाको ब्रिस्बेन नेपाली फुटबल क्लबले जयलाई क्लबमा स्वागत गरेको पोस्ट सार्वजनिक गरेको हो ।
गत महिना मात्र हेटौडामा चित्लाङ फुटबल क्लबबाट एन्फा प्रेसिडेन्ट लिगको फाइनल खेल खेलेका जयले तीन सातापछि अस्ट्रेलियालाई आफ्नो नयाँ गन्तव्य बनाएका हुन् ।

एन्फा एकेडेमीका उत्पादन जयले तल्लो र माथिल्लो उमेर समूहगरि तीन दर्जनभन्दा बढीपटक अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरेका छन् । सन् २०१९ मा हल्चोकमा आयोजना भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१८ च्याम्पियनसिपमा जय, चेतनारायण श्रेष्ठको नेतृत्वमा रहेको नेपाली टोलीको कप्तान थिए । २०१९ मै इरानमा सम्पन्न एएफसी यु–१९ च्याम्पियनसिप जयले खेलेको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।
ब्रिगेड ब्वाइज क्लबले २०७५ र २०७६ सालमा ललित स्मृति यु-१८ फुटबल च्याम्पियनसिपको उपाधि जित्दा जय टोलीका कप्तन थिए । बिग्रेड ब्वाइजबाटै शीर्ष डिभिजन फुटबलको यात्रा सुरु गरेका जयले तीन वर्षअघि भएको लिगमा खुमलटारको जर्सी लगाएका थिए ।

गत वैशाखमा सम्पन्न नेपाल सुपर लिग(एनएसएल)को तेस्रो संस्करण जयले चितवन एफसीबाट खेलेका थिए । त्यसअघि उनले दोस्रो संस्करण वीरगञ्ज यु्नाइटेड र पहिलो संस्करण बुटवल लुम्बिनी सिटीबाट खेलेका थिए ।
घरेलु फुटबल शुन्यको स्थितिमा पुग्दा नेपाली खेलाडी सुनौलो भविष्यको खोजीमा विदेशीन बाध्य भइरहेका छन् । साढे दुई महिनाअघि मात्र उदीयमान रक्षक जियारथ सेख पनि अस्ट्रेलिया पलायन भएका थिए । दुई साताअघि जियारथका यु-२० सहकर्मी अश्विन घोरासैनी (र्याकी)ले पनि अस्ट्रेलियालाई आफ्नो गन्तव्य बनाएका थिए ।
