काठमाडौं । एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटमा उपविजेता बनेर नेपाली टिम स्वदेश फर्किसकेको छ । प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै नेपाल फाइनलमा पुगेको थियो । तर, उपाधि भिडन्तमा नेपाल घरेलु टोली युएईसँग २७ रनले पराजित हुँदा च्याम्पियन हुनबाट वञ्चित भयो ।
समूह चरणमा हङकङ र साउदी अरबलाई हराएको नेपालले सेमिफाइनलमा मलेसियालाई पन्छाएको थियो । च्याम्पियन बन्न असफल भए पनि नेपाली खेलाडीले प्रतियोगिताबाट धेरै अनुभव बटुलेका छन् । घरेलु मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) को महोत्सव चलिरहँदा युवा खेलाडी भने आफूलाई निखार्नमै व्यस्त रहे । एनपिएलकै कारण विपिन शर्मालगायत अनुभवी खेलाडी प्रिमियर कपमा जान पाएनन् । नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ खेलाडीलाई अवसर दिएको थियो ।
अब, भने नेपाली खेलाडीको वास्तविक परीक्षाको समय आएको छ । यही टिमले युएईमै १२ देखि २१ डिसेम्बरसम्म हुने एसिसी एसिया कप खेल्दै छ । यो प्रतियोगिता पनि एकदिवसीय फम्र्याटमै हुनेछ ।
नेपालले एसिया कपको समूहमा तीनवटा टेस्ट राष्ट्रसँग खेल्ने छ । डिफेन्डिङ च्याम्पियन बंगलादेशसँगै समूहमा अफगानिस्तान र श्रीलंकाको सामना गर्दै छ । समूह ‘बी’ को प्रतिस्पर्धा नेपालका लागि फलामको चिउरा चपाउनुसरह हुने छ । अफगानिस्तानसमेत एक पटकको च्याम्पियन हुँदा नेपाललाई गाह्रो पक्कै हुनेछ । फेरि कमजोर तयारीबीच नेपाली खेलाडी युएईमै हुने एसिया कपमा सहभागी हुँदै छन् ।

हालसम्म एसिया कपमा भारत सर्वाधिक ७ पटकको च्याम्पियन हो । यसपालि पनि भारतले आइपिएललगायत घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधा दर्जन बढी खेलाडीलाई एसिया कपमा खेलाउँदै छ । बंगलादेशले पछिल्लो दुई पटक उपाधि जित्दा सन् २०१७ मा अफगानिस्तान पहिलो पटक च्याम्पियन बनेको थियो । यता, समूह ‘ए’ मा भारतसहित मलेसिया, पाकिस्तान र आयोजक युएई छन् ।
प्रिमियर कपमा नेपाल प्रदर्शन कस्तो ?नीरजको शतकमा साउदीविरुद्ध प्रभावयुएईमा भएको आइसिसी पुरुष यु–१९ प्रिमियर कपमा नेपालले पहिलो खेलमै साउदी अरेबियालाई ८ विकेटले पराजित ग¥यो । सुरुमा ब्याटिङ गरेको साउदीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय १९ रनको लक्ष्य दियो । प्रत्युत्तरमा नेपालले ३०.४ ओभरमै २ विकेट गुमाएर २ सय १९ रन बनाएको हो । नेपालका ओपनिङ ब्याटर नीरजकुमार यादवले ११४ रनको शतकीय इनिङ्स खेले । उनले ९० बल खेल्दा १३ चौका र १ छक्का प्रहार गरे । निश्चल क्षेत्रीले अविजित ६६ रन बनाएका थिए ।

हङकङविरुद्ध नेपालको रवाफ नेपालले हङकङविरुद्ध फराकिलो जित निकाल्यो । ११९ रनको जित निकाल्दै नेपाल समूह ‘ए’ मा चार अंकसहित शीर्षस्थानमा रहेको थियो । समूहमा नेपाल दुबै टोलीलाई पराजित गर्दै अपराजित यात्रा कायम राख्न सफल भयो । नेपालले सुरुमा ब्याटिङ गर्दै २७० रन बनायो । कप्तान अशोक धामीले ७३ तथा दर्श सुनारले ४५ रन बनाए । नेपालले अतिरित्त २५ रन पाएको थियो । जवाफमा हङकङले ४०.५ ओभरमा अलआउट हुँदा मात्र १५१ रन बनाउन सक्यो । अपराजित पौडेलले एक्लैले ४ तथा अशोक धामीले ३ विकेट लिएका थिए ।
सेमिफाइनलमा सानदार प्रदर्शनसमूह विजेता बनेर सेमिफाइनलमा पुगेको नेपालले सानदार प्रदर्शन गर्दै मलेसियालाई ९ विकेटले पराजित गरेको थियो । समूह ‘डी’ विजेता बनेर सेमिफाइनल पुगेको मलेसियाका ब्याटर नेपाली बलरसामु टिक्न सकेनन् । नितेशकुमार पटेल र चन्दन राम चम्किएपछि मलेसियाका शीर्ष आठ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि नितेशले ८ ओभरमा दुई मेडनसहित ४ विकेट लिएका थिए । चन्दनले ५ ओभरमा एक मेडनसहित ३ विकेट लिए । ब्याटिङतर्फ भान्स क्षेत्रीले अविजित २३ तथा निश्चल क्षेत्रीले अविजित १५ रन जोड्दै लगातार चौथो खेलसम्म अपराजित यात्रा कायम राखेको थियो ।

फाइनलमा ब्याटिङसँगै चुक्यो नेपाललगातार तीन खेलमा अपराजित यात्रा कायम राख्दै फाइनलमा स्थान बनाएको नेपाल निर्णायक खेलमा भने घरेलु टोली युएईसँग पराजित भयो । फाइनलमा नेपालको ब्याटिङ चल्न सकेन । सुरुमा ब्याटिङ गरेको युएईलाई नेपाली बलरले १४७ रनमै रोकेका थिए । दयानन्द मन्डलले एक्लैले ६ विकेट लिएका थिए । अपराजित पौडेलले पनि २ विकेट लिए । तर, ब्याटिङमा नेपालका खेलाडी चल्न सकेनन् । शतक बनाएका नीरज पनि एक रन बनाएर आउट भए । कप्तान अशोकले सबैभन्दा धेरै ३४ रन बनाएका थिए । ८.१ ओभरमा १६ रन जोड्दा ४ विकेट गुमाएपछि नेपाल दबाबमा आएको थियो । अन्त्यमा नेपाल २७ रनले पराजित भयो ।