काठमाडौं । सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीको सहयोगार्थ सहारा क्लब पोखराले आयोजना गरेको च्यारिटी डिनर नाइटबाट १७ लाखभन्दा बढि बचत भएको छ ।
क्लबले सोमबार च्यारिटी डिनर नाइट कार्यक्रमको आयव्यय सार्वजनिक गर्ने क्रममा कुल २४ लाख १९ हजार १७७ रुपैयाँ आम्दानी भएकोमा खर्च कटाई १७ लाख ४१ हजार ६२६ रुपैयाँ बचत भएको जानकारी गरायो ।
क्लबले एकेडेमीको सहयोगार्थ प्रत्येक वर्ष देउसीभैलो कार्यक्रम सञ्चालन गर्दै आएको थियो । तर यसपाली भने देउसीभैलो कार्यक्रम स्थगित गरी पहिलो पटक गत कात्तिक १४ गते च्यारिटी डिनर आयोजना गरिएको थियो ।
क्लबका महासचिव गंगाराम पौडेलले जानकारी गराएअनुसार टिकटबाट १० लाख ८७ हजार, नगद सहयोग १० लाख ८९ हजार र उठ्न बाँकी २ लाख ४२ हजार छ ।
क्लबले २५ हजारभन्दा बढी सहयोग गर्ने दाताको नामसमेत सार्वजनिक गरेको छ । तीमध्ये हिमश्री फुड्स प्रालिका कार्यकारी अध्यक्ष प्रेमकुमारी केसीबाट १ लाख ५१ हजार, निर्देशक प्रकाश केसीबाट १ लाख २५ हजार, सहारा युकेबाट १ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो ।
क्लबका मानार्थ सदस्य एमबिई दिलीपकुमार गुरुङ सल्लाहकार टीकाबहादुर कार्की, साधारण सदस्य चन्द्रबहादुर गुरुङबाट जनही ५१ हजार सहयोग प्राप्त भएको तथा क्लब सहकोषाध्यक्ष विष्णु गुरुङले ५० हजार, क्लबका शुभेच्छुक विनोद गुरुङले ३० हजार सहयोग गरेको महासचिव पौडेलले जानकारी गराए ।
त्यस्तै सहारा युकेका सल्लाहकार दिलरास गुरुङ, तमुधी युकेका अध्यक्ष जुमकाजी गुरुङ, सहारा क्लब युकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ, गोर्खा मिडिया युकेका प्रबन्ध निर्देशक मिलन तमु, सहारा क्लब पोखराका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ, पूर्व सहकोषाध्यक्ष अशोक–पार्वती लालचन र क्लब शुभेच्छुक सरिता गुरुङले जनही २५ हजार रुपैयाँ उपलब्ध गराएको जनाइएको छ ।
