काठमाडौ । लुम्बिनी लायन्सका खेलाडीले कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईका खेलमा सतक वा अर्धसतक प्रहार गरे बोनसस्वरुप थप नगद पुरस्कार प्राप्त गर्ने भएका छन् ।
एनपिएलको फ्रेन्चाइज लायन्सले जनाएअनुसार प्रतियोतिगामा सतक प्रहार गर्ने खेलाडीलाई १ लाख तथा अर्धसतक प्रहार गर्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ । अहिलेसम्म खेलेका दुई खेलमा कुनै पनि खेलाडीले लुम्बिनीका लागि सतक वा अर्धसतक प्रहार गरेका छैनन् ।
नगद पुरस्कार लायन्सको प्रायोजक सेन्चुरी मसलाको उत्पादक दुगर स्पाइसेस एण्ड फुड प्रडक्ट्स प्रालीले दिनेछ ।
नेपाली क्रिकेटको विकासका तथा खेलाडीहरुको मनोबल बढाउनका लागि पुरस्कारको व्यवस्था गर्न लागेको दुगर स्पाइसेसका प्रवन्ध निदेशक आदित्य दुगडलाई उधृत गर्दै लायन्सले जाएको छ ।
लायन्सका अध्यक्ष इश्वर जिसीले यस्तो पुरस्कारबाट खेलाडीको सम्मानका साथै हौसला वृद्धि हुने विचार राखेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणमा दुई खेलमा एक जित तथा एक हारको नतिजा निकालेको छ ।
पहिलो खेलमा चितवन राइनोजमाथि ६ विकेटको जित हासिल गरेको लायन्स दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेटले पराजित भएको थियो ।
टोलीले तेस्रो खेलमा मंगलबार काठमाडौं गोर्खाजको सामना गर्नेछ । काठमाडौं गोर्खाजले प्रतियोगितामा तीन खेल खेल्दा दुईमा हार भोगिसकेको छ ।
पहिलो खेलमा साविक विजेता जनकपुर बोल्टसलाई ५ विकेटले हराएर प्रतियोतिगाको सनसनीपूर्ण सुरुआत गरेको काठमाडौं त्यसपछि लगातार दुई खेलमा पराजित भयो । दोस्रो खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्ससँग २९ रनको हार भोगेको टोली तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटले पराजित भएको थियो ।
