काठमाडौं । एएफसी यु-१७ एसियन कप छनोट प्रतियोगिताको दोस्रो खेलमा पनि नेपालले पराजय बेहोरेको छ ।
शनिबार पहिलो खेलमा सिरियासँग ४-२ ले पराजित नेपाल सोमबार घरेलु टोली म्यानमारविरुद्ध ४-० ले निराश हुनुपर्यो । याङ्गुस्थित थुवुन्ना रंगशालामा नेपालले पहिलो हाफमा एक गोल खाएको थियो । दोस्रो हाफमा म्यानमारले तीन गोल थप्यो ।
म्यानमारको जितमा ये नाइङ अङ, अङ थि हा, म्यो खान्त क्या र विन मिन थान्तले समान एक गोल गरे ।
हारसँगै नेपाल अंकतालिकाको पुछारमा झरेको छ । म्यानमारले भने दुई खेलमा स्पष्ट ६ अंक जोड्दै हालका लागि शीर्ष स्थानमा उक्लियो । आफ्नो पहिलो खेलमा म्यानमारले अफगानिस्तानको चुनौती २-१ ले पन्छाएको थियो ।
समूह ‘जी’मा रहेको नेपालले बुधबार ओमानसँग खेल्ने तालिका छ । त्यसपछि दिन बिराएर नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
समूह विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एसियन कपको २१औं संस्करणका लागि छनोट हुने समीकरण छ । सोमबारको नतिजापछि एसियन कप खेल्ने नेपालको सम्भावना न्युन बनेको छ ।
