काठमाडौं । जर्मनीले फिफा विश्वकप युरोपियन छनोटमा आइतबार नर्दर्न आयरल्यान्डविरुद्ध ३-१ को सहज जित निकालेको छ ।
पहिलो जितसँगै दुई खेलमा तीन अंक जोडेको जर्मनी समूह ‘ए’ को तेस्रो स्थानमा छ । पहिलो हार बेहोरेको नर्दर्न आयरल्यान्ड समान खेलबाट तीन अंकका साथ दोस्रो स्थानमा छ ।
राइनइनर्जी रंगशालामा घरेलु टोली जर्मनीलाई जित दिलाउन सर्ज गिनाब्री, नादियम अमिरी र फ्लोरियन विर्ट्जले गोल गरे । नर्दर्न आयरल्यान्डका लागि आइज्याक प्राइसले गोल फर्काए ।
खेलको सातौं मिनेटमा गिनाब्रीको गोलमार्फत जर्मनीले अग्रता लिएको थियो । ३४औं मिनेटमा प्राइसले नर्दर्न आयरल्यान्डलाई बराबरीमा ल्याए ।
अमिरीले ६९औं मिनेटमा गोल गर्दा जर्मनी २-१ ले अगाडि बढ्यो । त्यसको चार मिनेटपछि नै विर्ट्ज गोल गरेपछि जर्मनीले ३-१ को जित निकाल्यो ।
यही समूहको अर्को खेलमा स्लोभाकियाले लक्जमबर्गविरुद्ध १-० को कठिन जित दर्ता गर्यो ।