काठमाडौं । पेनाल्टी सुटआउटमा उज्वेकिस्तानसँग ४–२ ले पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त भएको छ ।
उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रंगशालामा निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा नेपाल घरेलु टोलीसँग निराश बन्यो ।
उज्वेकिस्तानका लागि एम सोयिमोभा, यु जोइरोभा, एम खिक्माटोभा, एम अमिनिजोनोभाले गोल गर्दा नेपालका लागि गिता राना, सवीता रानामगरले गोल गर्दा सावित्रा भण्डारीको प्रहार पहिलो बारको पोलमा लागेर फर्किएको थियो । त्यस्तै गोलकिपर अञ्जना रानामगरको प्रहार उज्वेकिस्तानी गोलकिपर एम जोनिमक्युलोभाले बचाइन् ।
खेलको दोस्रोे मिनेटमै आबबुलेएभाको गोलमार्फत उज्वेकिस्तानले अग्रता लिएको थियो । फेरुजा टुर्डिबोएभाको प्रहारलाई रक्षक गीता रानाले हेडमार्फत ब्लक गरे पनि बक्स भित्र कुनै पनि निगरानीमा नरहेकी खाबिबुलेएभाले पहिलो बारमा गोल गरिन् ।
उज्वेकिस्तानले ११औं मिनेटमा अग्रता दोब्बर बनायो । कप्तान लिउडमिला कराचिकको क्रसले गोलकिपर अन्जनारानमगरलाई विट गर्दा समीक्षा घिमिरेको खुट्टामा लागेर जाली चुमेको थियो ।
खेलको २४औं मिनेटमा सावित्राले गोल फर्काइन् । सावित्राले बक्स बाहिरबाट गरेको प्रहार गोलकिपर अगाडि ‘बाउन्स’ हुँदै गोलमा परिणत भएको थियो ।
निर्धारित समय सकिन आठ मिनेट बाँकी छँदा उज्वेकिस्तानले पेनाल्टी अवसरलाई सदुपयोग गर्दा खेल ३–१ को स्थितिमा पुग्यो । सरस्वती हमालले पेनाल्टी बक्सभित्र ह्यान्ड गरेपछि उज्वेकिस्तानले सेटपीसको अवसर पाएको थियो । उक्त अवसरमा सोयीमोभा चुकिनन् । उनले प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।
पहिलो हाफको इन्जुरी समयमा एन एर्गासेभा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिन् ।
नेपालले दोस्रो हाफमा ‘वान म्यान एडभान्टेज’को फाइदा उठाउँदै दुई गोल गर्यो । खेलको ७१औं र ७४औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो र तेस्रो गोल गरिन् । प्रतियोगितामा सावित्राको यो लगातार तेस्रो ह्याट्रिक हो । यसअघि सावित्राले लाओससँग चार र श्रीलंकासँग तीन गोल गरेकी थिइन् ।
दोस्रो हाफको अन्तिम १५ मिनेट र थप गरिएको इन्जुरी समय उज्वेकिस्तानलाई दबाबमा राखे पनि नेपालले गोल गर्न सकेन । जसका कारण खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो ।
जितसँगै उज्वेकिस्तानले पहिलो पटक छनोट चरण पार गरेर एसियन कपमा स्थान बनाएको छ ।