काठमाडौं । पछिल्लो समय नेपाली फुटबलको अवस्था सुखद देखिँदैन । खुसी हुनुपर्ने कुरा कमैमात्र सुनिन्छन् । हुनुपर्ने कुराहरू भइरहेका छैनन् । हुनै नहुने कुराहरू यति भइरहेका छन् कि तिनको लेखाजोखा राख्न नसकिने अवस्था पुगिसक्यो । छोटोमा भन्दा फुटबल हिँड्नुपर्ने बाटोमा छैन । मैदानमा फुटबल छैन । प्रशासनमा सुशासन छैन । हिसाबकिताबमा पारदर्शिता छैन । फुटबलका लागि आसलाग्दो, व्यावहारिक र भरपर्दो योजनाको त कुरै छोडौं, नेपाली फुटबलको प्रशासन त्यसमा पूर्ण रूपमा मौन छ । अस्तित्वमै नरहे जस्तो । लाग्छ, नेपालमा फुटबल प्रशासन जीवित नै छैन ।
यति भनिरहँदा नेपालमा फुटबल नै नभएको जस्तो लाग्न सक्छ । तर त्यो पनि होइन । नेपालमा फुटबल पक्कै जीवित छ । सोच्ने आ-आफ्नै तरिका हुन्छन् । सत्य पनि हरेक मानिसको परिस्थितिअनुसार फरक हुन सक्छ । हेराइअनुसार फरक सत्य लाग्नु स्वभाविक हो । सामाजिक सन्जालमा निकै व्यस्त देखिने अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य अनिल मल्लको हेराइ ठ्याक्कै विपरीत छ । फेसबुकका भित्तामा उनले केही साताअघि लेखेका थिए, ‘म त देशभर जताततै फुटबलमात्र भइरहेको देख्छु ।’
दुई वर्षअघि अस्ट्रेलियामा महिला विश्वकप हेर्न एन्फा पदाधिकारीहरूको जन्ती जानुअघि संघले एउटा निर्णय गर्यो, ‘२०२७ वा २०३१ को महिला विश्वकपमा नेपाली टोलीलाई सहभागी गराउने ।
यो उनको दृष्टिदोष मात्र त होइन होला । यहाँ चर्चा गर्न खोजिएको मल्लको दृष्टिबारे पनि होइन । प्रतिनिधिपात्रका रूपमा मात्र उनको चर्चा गरिएको हो । फेरि मूल विषयमै फर्कौं ‘नेपालमा फुटबलको अवस्था, अझ योभन्दा पनि भविष्यका लागि नेपाली फुटबलको योजना’माथि ।

पछिल्ला वर्षहरूमा दयनीय अवस्थाबाट नेपाली फुटबल ओरालो लागिरहँदा र फुटबलबाट नकारात्मक उर्जामात्र सञ्चार भइरहेका बेला सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को एउटा योजना भने सकारात्मक छ । आशा जगाउने खालको । यो योजना आफैंमा निकै महत्त्वाकांक्षी छ । तर व्यवहारिक रूपमा पनि अलिकति होस्टेमा हैंसे गर्ने हो भने सम्भव देखिने खालको छ ।
सन् २०३१ सम्ममै कथंकदाचित सम्भव नभए पनि नेपाल विश्वकपको सच्चा दाबेदार चाहिँ बन्न सक्छ ।
दुई वर्षअघि अस्ट्रेलियामा महिला विश्वकप हेर्न एन्फा पदाधिकारीहरूको जन्ती जानुअघि संघले एउटा निर्णय गर्यो, ‘२०२७ वा २०३१ को महिला विश्वकपमा नेपाली टोलीलाई सहभागी गराउने । खासमा संघले धेरै सोचेर रणनीतिक योजना बनाएर वा त्यसलाई यथार्थमा परिणत गर्न प्रतिबद्धता जनाएर त्यो निर्णय गरेको थिएन । त्यसयताका झन्डै तीन वर्षको नेपाली फुटबल र नेपाली खेलकुदमा अन्य निकायले पनि विगतमा गरेका यस्ता निर्णयहरू र बनाएका मिसनहरू हेर्दा पनि एन्फाको यो निर्णयमा इमान्दारी देखिँदैनथ्यो ।
तर, महिला टोलीले मैदानमा निरन्तर गरेको प्रदर्शन र विश्व फुटबलले महिला प्रतियोगितालाई दिन थालेको महत्वका कारण भने नेपालको यो सम्भावना अव्यवहारिक छैन । स्वयं एन्फा, राष्ट्रिय खेलकुद परिषद र नेपाल सरकार अनि निजी क्षेत्रको प्रतिबद्ध साथ पाउने हो भने ‘मिसन महिला विश्वकप २०२७ र २०३१’ नाममा एन्फाले राखेको महत्त्वाकांक्षा साँच्चिकै सम्भव छ । सन् २०३१ सम्ममै कथंकदाचित सम्भव नभए पनि नेपाल विश्वकपको सच्चा दाबेदार चाहिँ बन्न सक्छ ।
कुनै बेला भियतनामजस्तो विश्वकपको टिमलाई ठूलो चुनौती दिएर समर्थकमा दरिलो आशा जगाएको महिला टोलीले भर्खरै दुई पटक विश्वकप खेलिसकेको थाइल्यान्डसँग उम्दा प्रदर्शन गरेर फर्किएको छ ।
अहिलेसम्म दक्षिण एसियामा पनि च्याम्पियन हुन नसकेको अवस्थामा देशभित्र महिला फुटबलमा कुनै चामत्कारिक परिवर्तन नगरी कसरी यो सम्भव हुन्छ ? भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्न सक्छ । विश्वकपमा पुग्न त पहिला दक्षिण एसिया अनि एसियामा आफ्नो उपस्थिति प्रभावकारी बनाउन सक्नुपर्छ भन्ने तर्क पनि सँगै आउने नै छ ।

नेपालले विश्वकप खेल्न सक्छ भनिरहँदा आउने दुवै आलोचनात्मक तर्कमा भरपुर दम छ । हो, विश्वकपसम्म पुग्न दक्षिण एसियामा च्याम्पियन भइसक्नुपर्छ । एसियाली स्तरका प्रतियोगितामा कम्तीमा उपस्थिति हुनुपर्छ । अनि यी सबका लागि नेपाली महिला फुटबलको वर्तमान अवस्थालाई सकारात्मक दिशामा ३६० डिग्री उल्टाउनुपर्छ ।
दक्षिण एसियामात्र नभई सहभागिता जनाउँदै आएका अन्य आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि नेपालको परिचय स्थायी उपविजेताको हो ।
जुन शब्दमा धेरै ठूलो सुनिए पनि महिला फुटबलको हकमा त्यति चुनौतीपूर्ण हुन्न । किन त ? आशावादी हुन सकिने कारणहरू छन् ।
पहिलो कारण, विना कुनै सेवासुविधा देशभित्र सही तरिकाको फुटबलसमेत खेल्न नपाइरहेको बेला नेपाली महिला टिमले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा एकरूपले गरिरहेको बहादुरीपूर्ण प्रदर्शन । कुनै बेला भियतनामजस्तो विश्वकपको टिमलाई ठूलो चुनौती दिएर समर्थकमा दरिलो आशा जगाएको महिला टोलीले भर्खरै दुई पटक विश्वकप खेलिसकेको थाइल्यान्डसँग उम्दा प्रदर्शन गरेर फर्किएको छ ।
चार पटकको एसियन च्याम्पियन थाइल्यान्डले सन् २०१५ र २०१९ मा विश्वकप खेलेको थियो । त्यही टिमसँग अघिल्लो साता उसकै मैदानमा नेपालले दुई खेल खेल्यो, एउटा अनौपचारिक र अर्को औपचारिक मैत्रीपूर्ण । अनौपचारिक खेलको नतिजा १-० को हार थियो भने औपचारिक खेलमा नेपाल २-० ले मात्र निराश भयो ।
१२ टिमको सहभागिताका साथ चीनबाट सुरु भएको महिला विश्वकप अहिले ३२ टिमको प्रतियोगिता बनिसकेको छ ।
दक्षिण एसियामात्र नभई सहभागिता जनाउँदै आएका अन्य आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि नेपालको परिचय स्थायी उपविजेताको हो । सानदार प्रदर्शन गरेर फाइनलसम्म पुग्ने अनि उपाधि भिडन्तमा चुक्ने एउटा खड्गो नेपाली टिमले काट्नुपर्नेछ । त्यसपछि नेपाललाई जित्ने बानी लाग्नेछ । च्याम्पियन हुने बानी लाग्नेछ । जुन विश्वकपसम्म पुग्ने कठिन र लामो बाटोका लागि नेपालको सफलता सूत्र बन्न सक्छ ।

दोस्रो कारण, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले महिला विश्वकपको आकार तीव्र गतिमा फराकिलो पारिरहेको छ । पुरुषको तुलनामा महिला विश्वकपको इतिहास निकै छोटो छ । चीनबाट १९९१ मा सुरु भएको महिला फुटबल विश्वकपको इतिहास साढे तीन दशक पनि पुगेको छैन । महिलामा अहिलेसम्म ९ पटक मात्र विश्वकप भएको छ ।
वर्तमान अवस्थामै नेपाल फिफाको एसियाली वरीयताको १९औं स्थानमा छ । विश्व वरीयतामा ९९औं स्थान ओगटेको छ ।
१२ टिमको सहभागिताका साथ चीनबाट सुरु भएको महिला विश्वकप अहिले ३२ टिमको प्रतियोगिता बनिसकेको छ । फिफाले २०३१ बाट महिला विश्वकपमा पनि ४८ टिम सहभागी गराउने निर्णय गरिसकेको छ । १९९५ मा स्विडेनमा भएको दोस्रो संस्करणमा पनि १२ टिम नै सहभागी थिए । १९९९ र २००३ मा लगातार दुई पटक प्रतियोगिता अमेरिकाले आयोजना गर्यो । १९९९ मा फिफाले सहभागी टिमको संख्या बढाएर १६ पुर्यायो । त्यसले २०११ को जर्मनी महिला विश्वकपसम्म निरन्तरता पायो ।
२०१५ मा क्यानडाले विश्वकप आयोजना गर्दा टिम संख्या फेरि बढाइयो र २४ पुर्याइयो । त्यसले अर्को संस्करण २०१९ मा फ्रान्समा हुँदा निरन्तरता पायो । तर फिफाले दुई वर्षअघि अस्ट्रेलियामा भएको विश्वकपमा फेरि सहभागी संख्या बढाएर ३२ पुर्याएको छ । जसले अब दुई वर्षपछि ब्राजिलमा हुने एउटा संस्करणसम्म मात्र निरन्तरता पाउने छ ।
खेलकुद र समृद्धिमा धेरै माथि भए पनि महिला खेलकुदमा कमजोर धेरै देशलाई प्रतिस्पर्धीको रूपमा पाउनु नेपालका लागि अर्को सुविधा हुन सक्छ ।
अब फर्किउँ, नेपालको सम्भावनातिर । वर्तमानमा ३२ टिम सहभागी हुँदा एसियाबाट ६ टिमले विश्वकप खेल्न पाउँछ । अब त्यसमा ५० प्रतिशत वृद्धि गर्दा एसियाको कोटा पनि सोही अनुपातमा बढेर ९ टिम पुग्नेछ । त्यसो हुँदा नेपालको सम्भावना २०३१ को ११औं महिला विश्वकपमा थप बढ्नेछ ।

वर्तमान अवस्थामै नेपाल फिफाको एसियाली वरीयताको १९औं स्थानमा छ । विश्व वरीयतामा ९९औं स्थान ओगटेको छ । अनि नेपालले भर्खरै उसको मैदानमा कडा टक्कर दिएको थाइल्यान्ड नवौं स्थानमा छ । एसियाली वरीयताको छैटौं र सातौं स्थानमा रहेका भियतनाम र फिलिपिन्ससँग पनि नेपालले विगतमा चुनौतीपूर्ण प्रदर्शन गरेर आफ्नो सम्भावना प्रमाणित गरिसकेको इतिहास छ ।
नेपाल एसिया कपको छनोट प्रतियोगिताको तयारीमा छ । जहाँ कमजोर लाओस र श्रीलंकासँगै बलियो उज्वेकिस्तानको चुनौती पन्छाउन सके नेपाल पहिलो पटक एसिया कपको हिस्सा बन्नेछ ।
वरीयताले मैदानभित्रको सबै अवस्था चित्रण नगर्न सक्छ । यो नै टिमको स्तरमापनको सम्पूर्ण आधार होइन । तर, समग्रतामा वरीयताले टिमको स्तरमाथि धेरै कुरा चाहिँ बोल्छ । यस अर्थमा पनि नेपालको सम्भावना बलियो देखिन्छ ।
तेस्रो कारण, विश्वकपका लागि नेपालले एसियाली मुलुकबीच प्रतिस्पर्धा गर्ने हो । जहाँ कट्टरपन्थी मुस्लिम देशहरूको संख्या निकै ठूलो छ । समग्र खेलकुद र समृद्धिमा धेरै माथि भए पनि महिला खेलकुदमा कमजोर धेरै देशलाई प्रतिस्पर्धीको रूपमा पाउनु नेपालका लागि अर्को सुविधा हुन सक्छ । जसले विश्वकप पुग्ने महत्त्वाकांक्षामा बाटो सजिलो बनाउने अनुमान गर्न सकिन्छ ।
एसियाली वरीयताको १०औं स्थानमा रहेको उज्वेकिस्तानविरुद्धको खेल चाहिँ नेपालका लागि कठिन हुनेमा शंका छैन ।
२०२६ मा अस्ट्रेलियामा हुने एसिया कपको सेमिफाइनल पुग्ने चार टिम सोझै विश्वकप पुग्नेछन् । क्वाटरफाइनलमा पराजित हुने चार टिमले आपसमा प्लेअफ खेल्नेछन् । जसको विजेता दुई टिमले ब्राजिलको टिकट काट्नेछ । र, नेपाल चाहिँ त्यो एसिया कपको छनोट प्रतियोगिताको तयारीमा छ । जहाँ कमजोर लाओस र श्रीलंकासँगै बलियो उज्वेकिस्तानको चुनौती पन्छाउन सके नेपाल समग्रमा चौथो पटक र छनोट चरण पार गरेर पहिलो पटक एसिया कपको हिस्सा बन्नेछ । विश्वकपसम्म पुग्ने यात्राको पहिलो र महत्त्वपूर्ण सिँढी चढ्नेछ ।

यही जुन २९ बाट जुलाई ५ सम्म उज्वेकिस्तानमा हुने छनोट प्रतियोतिगामा नेपालले पहिलो दिन लाओससँग खेल्नेछ । दोस्रो खेल श्रीलंकासँग हुनेछ भने तेस्रो खेलमा नेपालले उज्वेकिस्तानको सामना गर्नेछ । फुटबलमा कुनै पनि भविष्यवाणी गर्न सकिन्न । साना टिमले पनि महारथीलाई निराश पारेका इतिहास थुप्रै छन् । एक हिसाबमा फुटबल अनिश्चितताको खेल हो । तथापि एसियाली वरीयताको २१औं स्थानमा रहेको लाओस र ३३औं स्थानमा रहेको श्रीलंकामाथि जित हासिल गर्नु नेपालका लागि ठूलो चुनौती हुने छैन ।
सम्भव हुने जति सबैखाले सुविधा दिएर महिला खेलाडीहरूलाई तिखार्ने र नयाँ प्रशिक्षकको रणनीतिमा अभ्यस्त बनाउन सके नेपालको विश्वकप खेल्ने सपना पूरा गर्ने यही मौका सही बन्न सक्छ ।
एसियाली वरीयताको १०औं स्थानमा रहेको उज्वेकिस्तानविरुद्धको खेल चाहिँ नेपालका लागि कठिन हुनेमा शंका छैन । तर, सुन्दर खेलको अनिश्चितताभित्र सम्भावना खोज्न नेपाली चेलीहरूको क्षमतासँगै विगतका साहसी प्रदर्शन पर्याप्त हुन सक्छ । भर्खरै थाइल्यान्डसँगको खेल पनि प्रेरणा खोज्ने राम्रो माध्यम बन्न सक्छ ।
यो सब सम्भावनाका लागि चाहिँ पर्याप्त मिहिनेत गर्नुपर्छ । खासगरी फुटबल प्रशासनको साँचो प्रतिबद्धता चाहिन्छ । तयारीका लागि धेरै दिन बाँकी छैन । भर्खर प्रो लाइसेन्सप्राप्त नयाँ प्रशिक्षक नियुक्त भएका छन् । बाँकी रहेको तीन सातामा सम्भव हुने जति सबैखाले सुविधा दिएर महिला खेलाडीहरूलाई तिखार्ने र नयाँ प्रशिक्षकको रणनीतिमा अभ्यस्त बनाउन सके नेपालको विश्वकप खेल्ने सपना पूरा गर्ने यही मौका सही बन्न सक्छ । यसपालि सफलता हात नलागे पनि बलियो आधार बनाएर त्यसलाई आगामी चार वर्ष निरन्तरता दिने हो भने सन् २०३१ मा नेपाली महिला टिमलाई मेक्सिको र अमेरिकाका मैदानमा देख्न पाइने छ ।

अनि नेपाली फुटबलका सबै कुरूप पक्षलाई चेलीहरूले एकाएक पर्दा हालेर खेलको सुन्दर मुहार प्रस्तुत गर्नेछन् ।