काठमाडौं । एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत उज्वेकिस्तानविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।
पछिल्ला दुई खेलमा ३–२–३–२ को फर्मेशनमा उत्रिएको नेपाली टोली उज्वेकिस्तानविरुद्ध चार रक्षकका साथ खेल्दैछ । मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले मिडफिल्डर प्रीति राईलाई आराम दिँदा रक्षक पूजा रानाले पहिलो रोजाईमा मौका पाएकी छन् ।
स्ट्राइकर सावित्रा भण्डारीको कप्तानीमा अञ्जना रानामगरले गोलपोस्टको जिम्मेवारी सम्हाल्नेछिन् । रक्षापङ्क्तिको जिम्मेवारीमा पूजा रानासँगै निशा थोकर, गीता राना र समीक्षा घिमिरे छन् ।
मिडफिल्डमा सरस्वती हमाल र रेनुका नगरकोटेले मध्भाग सम्हाल्दा सवीता रानामगरले वायाँ तथा अनिता बस्नेतले दायाँ विंग्सबाट नेपाली टोलीको खेल बुन्नेछन् ।
अग्रपङक्तिमा सावित्रालाई रश्मीकुमारी घिसिङले साथ दिनेछन् ।
उज्वेकिस्तानलाई जिते नेपालले आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपको २१औं संस्करणमा आफ्नो स्थान सुरक्षित गर्नेछ ।
खेल उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा नेपाली समयअनुसार अहिले ९ः१५ बजे हुनेछ ।