काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङका पूर्व निजी सचिव अमित खत्रीले महासचिव किरण राईविरुद्ध सम्पत्ती सुद्धिकरण अनुसन्धान विभागमा उजुरी हालेका छन् ।
महासचिव राईले होटल सोल्टी, केल्मी, केटिएम सिटीलगायत विभिन्न मार्केटिङ तथा टिकेटिङ कम्पनिबाट लाखौ रुपैयाँ कमिसन खाएको आरोपसहित खत्रीले छानविनका लागि सम्पत्ती सुद्धिकरणमा उजुरी गरेका हुन ।
ठूलो रकम अनियमित तरिकाले कमिसन खाएर राईले अस्वभाविक जीवनयापन गरेको तथा काठमाडौंमा घर घडेरी जोडेको आरोप खत्रीले लगाएका छन् ।
‘निजले घर घडेरी जोडेको हो भने निजको सम्पत्तीको स्रोत के हो सो समेत पहिचान गरि छानविन गरि कारवाही गरि पाउन अनुरोध गर्दछु,’ खत्रीले सम्पत्ती सुद्धिकरण अनुसन्धान विभागमा हालेको उजुरीमा उल्लेख छ ।
खत्रीले उजुरीमा आफूले उल्लेख गरेबमोजिमका कमिसन लेनदेनमा एन्फा महासचिव राई संलग्न रहेका कागजात पनि सम्पत्ती सुद्धिकरण अनुसन्धान विभागमा उपलब्ध गराएको जनाएका छन् ।