काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्ट आउने फुटबल प्रतियोगिताहरुमा न्यु रोड टिम (एनआरटी)को जर्सीमा देखिने भएका छन् ।
सोमबार एनआरटीले सामाजिक सञ्जालमार्फत अञ्जनलाई क्लबमा स्वागत गरेको जानकारी दिएको हो ।
लामो समय नेपालको सर्वाधिक सफल क्लब मनाङ मस्र्याङ्दीको जर्सीमा देखिएका अञ्जनले पछिल्लो दुई वर्षयता चर्च ब्वाइज युनाइटेडबाट व्यावसायिक फुटबल खेलिरहेका थिए ।
अञ्जनले २०८० को जेठमा सम्पन्न पछिल्लो सहिद स्मारक ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइजको प्रतिनिधित्व गरेका थिए । बाल गोपाल महर्जनको नेतृत्वमा रहेको चर्च ब्वाइजले शीर्ष डिभिजनको पहिलो अनुभवमै लिग उपाधि जितेको थियो । अञ्जनको यो व्यक्तिगत दोस्रो लिग उपाधि हो । यसअघि उनले मनाङबाट २०७५ सालमा पहिलो पटक लिग उपाधि जितेका थिए ।
एनआरटी अञ्जनका दाइ रञ्जन (विष्ट)को पनि पूर्व क्लब हो । २०७८ को लिगमा रञ्जनले एनआरटीको प्रतिनिधित्व गरेका थिए । लिगपछि उनी सुनौलो भविष्यको खोजीमा अस्ट्रेलिया प्रस्थान गरेका थिए ।