काठमाडौं । लुम्बिनी स्पोर्टस अवार्ड छनोट समितिको संयोजकमा रमेश मल्ललाई मनोनित गरिएको छ ।
आयोजक रंगशाला नेपाल मिडिया प्रालिले अवार्डको छनोट समिति संयोजकमा फोटो पत्रकार, सुटिङ खेलका पुर्व राष्ट्रिय खेलाडी तथा साईक्लिस्ट मल्ललाई छनोट गरिएको जनाकारी दियो ।
नेपालगन्जमा आगामी मंसिर १८ गते प्रथम लुम्बिनी स्पोर्टस अवार्ड-२०८२ हुँदैछ । अवार्डलाई निष्पक्ष ढंगले सम्पन्न गर्नको लागि मल्लले महत्वपुर्ण जिम्मेवारी सम्हाल्ने आयोजकले विश्वास लिएको छ ।
मल्लले लुम्बिनी स्पोर्टस अवार्डको छनोट समिति संयोजकको जिम्मेवारी प्रदान गरेकोमा आयोजकलाई धन्यवाद दिए । ‘लुम्बिनी प्रदेशको लागि यो खुसीको कुरा हो । खेलाडी र खेलकर्मीको सम्मान गर्नु हाम्रो दायित्व हो । खेलले कुनै धर्म, समुदाय, वर्ग नभनेर आफनो समाज अनि देशलाई चिनाउने काम गरेको हुन्छ । खेलाडीले पनि राष्ट्रको गौरव बढाउन महत्वपुर्ण भुमिका निर्वाह गरिरहनु भएको हुन्छ । उहाँहरूको सम्मान हामीले गर्नुपर्छ । लुम्बिनी स्पोर्टस अवार्डले त्यो अभिभारा पुरा गर्ने विश्वास छ,’ मल्लले भने ।
आयोजकले यसअघि अवार्डको संयोजकमा चाहना शाह र प्रचार-प्रसार संयोजकमा खेल पत्रकार गजे थापा( जी. थापा) लाई मनोनित गरिसकेको छ ।
लुम्बिनी स्पोर्टस अवार्डको पहिलो संस्करणमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, लाईफ टाइभ अचिभमेन्ट अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले सह-प्रायोजन गरेको छ ।
