काठमाडौं । विवेक राना मगरको सानदार ब्याटिङ र बलिङको सहयोगमा ललितपुर जिल्लाले प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिताको बागमती प्रदेश छनोटमा लगातार तेस्रो जित हासिल गरेको छ ।
लगातार तेस्रो जित हात पार्ने क्रममा बुधबार सम्पन्न खेलमा ललितपुरले चितवन जिल्लालाई ७ विकेटले पराजित गरेको हो । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको चितवनले ४७ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर २२७ रन बनाएको थियो ।
चितवनका लागि पवनबहादुर थापाले ७६ बलमा ७७ तथा आर्य महतोले ८५ बलमा ३८ रन बनाए । ललितपुरका लागि सुर्य तामाङले ३ तथा पंकज पाण्डे र विवेक राना मगरले समान २ विकेट लिए ।
२२८ रनको लक्ष्य ललितपुरले २८ दशमलब ३ ओभरमा ३ विकेट मात्र गुमाएर पूरा गर्यो । ललितपुरका लागि विवेकले ५१ बलमा ६९ तथा सचिन लेखकले ६४ बलमा ६२ रन बनाए । ललितपुरका दुवै ब्याटर अविजित रहेका थिए ।
लगातार तेस्रो जित निकालेको ललितपुर ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा नुवाकोटलाई पराजित गरेको चितवनको २ अंक भएको छ ।
बुधबारै भएका अन्य २ खेलमा काठमाडौं तथा भक्तपुर जिल्ला विजयी भए । काठमाडौंले लगातार दोस्रो जित हात पार्ने क्रममा मकवानपुर जिल्लालाई हरायो ।
दोस्रो जित निकालेको भक्तपुरले अंकबिहिन त्रिभुवन विश्वविद्यालयलाई हरायो ।
प्रतियोगितामा बागमती प्रदेशका ६ (काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र नुवाकोट) जिल्ला तथा त्रिभुवन विश्वविद्यालयको टोली सहभागीता छ । सहभागी टोलीबीच सिङ्गल राउण्ड रोबिन लिगका आधारमा खेल हुनेछ । लिग चरणको समाप्ती पछि शीर्ष २ मा रहने टोलीका बीच आगामी चैत ३ मा फाइनल खेल हुनेछ ।
टियु क्रिकेट रंगशाला र माथिल्लो तथा तल्लो मुलपानीमा संचालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा बागमती प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।
