काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा बुधबार (आज) मध्यराति दुई महाभिडन्त हुँदैछन् ।
क्लब विश्वकप फाइनलमा आमने-सामने भएका पेरिस सेन्ट जर्मन (पिएसजी) र चेल्सी फेरि पनि एकअर्काविरुद्ध मैदानमा उत्रिँदैछ । त्यस्तै बहुप्रतिक्षित रियाल मड्रिड र म्यानचेस्टर सिटीको खेल पनि आजै छ । प्रि-क्वार्टरफाइनलको पहिलो लेगका यी खेल नेपाली समयअनुसार मध्यराति १ः४५ बजे हुनेछ ।
प्रिमियर लिगका महारथीहरु चेल्सी र म्यानचेस्टर सिटी दुबै अवे मैदानमा खेल्दैछन् ।
विश्वकप फाइनलपछि पिएसजी र चेल्सी दुबैले ‘कन्सिस्टेन्ट’ प्रदर्शन गर्न सकेको छैन । यद्यपि पिएसजी फ्रेन्च लिग वानको अंकतालिकामा शीर्ष स्थानमा छ, टोलीले विगतको जस्तो रवाफ जमाउन सकेको छैन । पछिल्लो चार खेलमा पिएसजीले दुईमा हार बेहोरेको छ । चेल्सीले पनि पछिल्लो चार प्रिमियर लिग खेलमा एकमा मात्र जित प्राप्त गरेको छ ।
रियाल मड्रिड पनि अहिले जितका लागि संघर्ष गरिरहेको छ । अहिले ला लिगामा मड्रिड बार्सिलोनाभन्दा ४ अंकले पछाडि परिसकेको अवस्था छ । च्याम्पियन्स लिगमै पनि बेनफिकालाई प्लेअफमा हराउँदै मड्रिडले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको थियो । त्यस्तै अहिले मड्रिडलाई इन्जुरीले सताएको छ । प्रमुख खेलाडीहरु: किलियन एमबाप्पे, जुद बेलिङ्घम र रोड्रिगो सिटीविरुद्ध उपस्थित हुने छैनन् । सिटीको अवस्था भने त्यति खराब छैन ।
यसबाहेक बुधबार अन्य खेलमा बोडो/ग्लिम्टले स्पोर्टिङ लिस्बन तथा बायर लेभरक्युसनले आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ । आर्सनल र लेभरक्युसनको खेल ११ः३० मा छ । लिस्बनको खेल मध्यराति १ः४५ बजे हुनेछ ।
